बुटवल । व्यस्तता र सपना पुरा गर्ने होडले मानिसलाई परिवारबाट टाढा पार्दछ। आफू बाहेक अरूको चिन्ता नगर्ने यो प्रवृत्तिले बुढेसकालमा परिवारका आमाबाबुलाई एक्लो बनाउँछ। बालबालिका भोकै भए कि भनेर परिश्रम गर्ने आमा बुबालाई सन्तानको उपेक्षाले वृद्धाश्रममा राख्न बाध्य बनाउँछ। हरेक परिवारको आफ्नै कथा हुन्छ, तर पछिल्लो समयको यथार्थलाई पर्दामा उतारेर दर्शक सामु ल्याउने रामजी ज्ञवालीले युवा पुस्तालाई एक गहिरो प्रश्न सोधेका छन्: “के आमाबुवाको त्यागको जवाफ तपाईं संग छ?”
रामजी ज्ञवाली, जसले “डार्क मुन,” “एक लभर,” “आराध्या,” “रित्तो गाउँ,” “हनिमुन” जस्ता छोटा फिल्म निर्देशन गरेर चर्चा कमाएका छन्, अब नयाँ सर्ट फिल्म “लापत्ता सन्तान” दर्शक सामु ल्याएका छन्। यो फिल्मले वृद्धाश्रममा बस्न बाध्य भएका नेपाली ज्येष्ठ नागरिकको कथा प्रस्तुत गर्छ, जसले सन्तानको अपहेलनाको शिकार भएका अभिभावकको मर्मस्पर्शी अनुभवलाई उजागर गर्दछ।
२० मिनेटको लामो यस फिल्ममा रश्मी भट्ट, ओजस्वी विक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, निलम भट्ट, मनिष निरौला, प्रमित प्रसाई र प्रनि प्रान्जल पौडेलको अभिनय रहेको छ। फिल्मको गहिराइ र सन्देशले दर्शकको मन जित्ने विश्वास छ। निर्देशक ज्ञवालीले छोटो फिल्मको शक्तिलाई बुझेर, वर्तमान समाजका यथार्थ समस्याहरूबारे कटाक्ष गरेका छन्।
पछिल्लो समय “रित्तो गाउँ” जस्तो फिल्मको निर्देशन गरेका ज्ञवालीले अब “साइलेन्स टूर” नामक नयाँ छोटो फिल्म निर्माण गर्ने योजना बनाएका छन्। भविष्यमा कथानक फिल्ममा समेत आउने सोच राखेका छन्।
भिडियो: