टोपेखोलामा दुई वटा गाडीमा ढुङ्गा खस्दा यात्रु घाइते

by समतल अनलाइन

चितवन । नारायणगढ–मुग्लिङ सडकको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा शनिबार राति ढुङ्गा खसेर लाग्दा दुई वटा गाडीमा क्षति पुगेको छ । एउटा गाडीका यात्रुलाई केही नभए पनि अर्को गाडीका पाँच जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ढुङ्गाले लागेका दुवै गाडी आ–आफ्नो गन्तव्यतर्फ गइसकेको बताए । काठमाडौंबाट बर्दिया जान आइरहेको ना ७ ख २७४५ नम्बरको बस र काठमाडौंबाट नारायणगढ आउँदै गरेको बा प्र ०६–००१ ज ०२३६ नम्बरको माइक्रोबसमाथि हिजो राति सवा आठ बजेतिर ढुङ्गा खसेको थियो ।

ढुङ्गाले लााग्दा बर्दिया जााने बसका पाँच जना यात्रु घाइते भएका छन् । माइक्रोबसका यात्रुलाई केही नभएको प्रशासनले जनाएको छ । घाइतेहरूलाई बसमा नै राखेर उपचारका लागि चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा ल्याइएको थियो । घाइतेहरूमा बर्दिया गेरूवाका प्रेमकला थापा, विकास शर्मा र गीता पाण्डे तथा मुगुका हिरामणि सञ्जेल र मोहन सञ्जेल रहेका छन् ।

 
 
  
 

You may also like