अक्सफोर्डमा खाना महोत्सव तथा सांगीतिक कार्यक्रम

by समतल अनलाइन

बुटवल। लुम्बिनी प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड मा. वि मा शुक्रबार कक्षा ११ र १२ हाेटल म्यानेजमेन्टका विद्यार्थीहरुको आयोजनामा फुड फेस्टिवल तथा लाइभ कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ । खाना महोत्सव तथा सांगीतिक कार्यक्रममा बाेल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले विगतदेखि नै अक्सफोर्डले यस्ता रचनात्मक कार्यक्रम गर्दै विद्यार्थीलाई प्रयाेगात्मक रूपमा सिक्ने र सिकाउने वातावरण विद्यालयले सिर्जना गरेको बताए ।

प्राध्यापक सुमन भुसालले फुड फेस्टिवल कार्यक्रम गर्नुकाे प्रमुख कारण विद्यालयमा सिकेको ज्ञान र सीपकाे प्रयाेग सँगै विद्यार्थीहरुले आम्दानी कसरी गर्न सकिन्छ भन्ने व्यावहारिक ज्ञान समेत दिन कार्यकम आयोजना गरेको बताए । २०५९ सालमा स्थापना भएको यस मा. वि. मा लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशील प्रबुद्ध व्यक्तिहरुको संलग्नता रहेको छ । हाल विद्यालयमा कक्षा ११ र १२ मा २५५० विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।

विद्यालयले हरेक वर्ष उत्कृष्ट रिजल्ट ल्याउदै आएको छ । खाना महोत्सव कार्यक्रममा विभिन्न ६ वटा स्टलहरू रहेका थिए । जसमा मम, पिजा, बर्गरजस्ता परिकारहरू रहेका थिए । करिब छ हजारकाे उपस्थितिमा भएको कार्यक्रममा छ लाख बराबरकाे आर्थिक काराेबार भएको प्राध्यापक गाेकर्ण खरेलले बताए । उक्त कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य तथा गीतहरू समेत प्रस्तुत गरेका थिए भने विभिन्न ब्यान्डहरूले आफ्नो प्रस्तुती देखाएका थिए ।

खाना महोत्सव कार्यक्रमबाट करिब २ लाख जति नाफा भएको हुंदा उक्त नाफा समेत विद्यार्थीहरूले बाड्ने प्राध्यापक सुमन भुसालले बताए । कार्यक्रममा अभिभावक संघ रूपन्देहीका अध्यक्ष लाेकनाथ ज्ञवाली, क्याम्पस प्रमुख मनाेज मरासिनी, क्याम्पस अध्यक्ष अजित खनाल, पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गादत्त भण्डारीलगायतको उपस्थिति रहेको थियोे ।

 
 
  
 

You may also like