राष्ट्रपतिद्वारा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण

by समतल अनलाइन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका छन् । उनले आज (शुक्रबार) बिहान सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्र निर्माताको शालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका हुन् ।

सो अवसरमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो भने समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुले समेत राष्ट्र निर्माता शाहको सालिकमा माल्यार्पण गरेका थिए । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको आज ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै देशभर कार्यक्रम आयोजना हुँदैछन् ।

तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरी आधुनिक नेपालको निर्माण गरेका थिए । उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको हो ।

 
 
  
 

You may also like