छोरामा स्वास्थ्य समस्या देखिएपछि श्रीमान पनि वेपत्ता
तनहुँ । तनहु जिल्ला म्याग्दे गाउँपालिका–८ मा बसोबास गर्ने नानुमाया दुराको दुःखको कहानी अचम्मको छ ।
खरले छाएको बाँसको टहरो । टहरोभित्र एक आमा र तीन छोरा । नानुमाया दुराको तीन वटा छोरा छन् । जेठो छोरा गाडीमा कन्डक्टरको काम गर्छन् । कान्छो ६ कक्षामा पढ्दै छन् । तर, माइलोको कथा बेग्लै छ । माइला १५ वर्षका भए ।
जन्मेको ८ महिनासम्म त उनी सामान्य थिए । त्यसपछि भने विस्तारै उनी हिंड्न, बोल्न र चल्नै नसक्ने भए । माइला छोरा मिलन कक्षा २ मा पढ्दै थिए । तर एक खुशी परिवारमाथि बज्रपात बनेर आयो मिलनको रोग ।
के भएर छोरामा समस्या आयो । उपचार हुन्छ कि हुँदैन भन्ने पनि बुझ्न पाएका छैनन् दुरा परिवारले । विहान वेलुकाको छाक टार्न नै गाह्राे छ, उपचारको कुरा त असम्भव जस्तै बनेको छ । काममा जाँदा छोरालाई डोरीले बाँधेर बाहिर निस्किने गरेको उनी बताउँछिन् ।
छोराको अवस्था विग्रेपछि नानुमायाले श्रीमान्को साथ पनि गुमाइन् । छोरामा समस्या देखिएपछि नै उनका श्रीमान वेपत्ता छन् । त्यसपछि उनलाई आफ्नो र छोराहरुको गर्जाे टार्न नै समस्या परेको छ ।
नानुमाया ज्याला मजदुरी, मेलापात गर्छिन् र जेनतेन छाक टार्छिन् । अरुले दिएको एक टुक्रा जमिनमा बाासको टहरोमा लगाएको खरको छानो पनि चुहिने भईसकेको छ । हावाहुरी चल्दा छानो उडाउँछ, पानी पर्दा चुहिएर खुट्टा टेक्ने ठाउँ हुँदैन । छोराहरु च्यापेर रुझ्दै रुनु शिवाय नानुमायासँग विकल्प छैन । नानुमायालाई आश कसैको छैन । आफ्नो नागरिकता छैन, कतैबाट सरकारी सहयोग पनि लिन पाएकी छैनन् ।
त्यसमाथि उनका श्रीमानले नै उनलाई एक्ल्याएर गएका छन् । काम नगरी छाक टर्दैन । जेठो छोरो आफ्नै पेट पाल्ने सुर गरेको छ । कान्छो विद्यालयबाट आएर पढ्न बस्छ । नानुमाया दिनभरी काम गरेर ल्याएको निमेक लिएर आउँछिन्, माइलोको दिनभरीको दिसा–पिसाब सफा गर्छिन् र तीन परिवारको छाकको तयारी गर्छिन् ।
जङ्गलको छेउमा एक्लो घर छ । परिआए हारगुहार गर्ने पनि कोही छैनन् । सन्तानको मायाले सारा डर हराएको छ । तर छोरालाई ठीक पार्ने आशा भने जताततै असरल्लै छरिएका छन् ।