काठमाडौँ । राष्ट्रपति सी जिनपीङले डोनाल्ड ट्रम्पलाई चीन र अमेरिका प्रतिष्पर्धी नभई साझेदार बन्नुपर्ने बताएका छन् ।
बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा भएको भेटमा द्विपक्षीय छलफलका क्रममा सी जिनपीङले व्यापार युद्धमा कसैको जित नहुने बताउदै चीन र अमेरिका आर्थिक सम्बन्धको आधार पारस्परिक लाभ र सहकार्य रहेको बताएको चिनियाँ मिडियाले उल्लेख गरेका छन् ।
बैठकमा जिनपीङले विश्वभरको ध्यान यस भेटवार्तातर्फ केन्द्रित रहेको बताउदै विश्व तीव्र रूपमा परिवर्तन भइरहेका बेला अमेरिका र चीनबीचको सम्बन्ध विश्व स्थिरताका लागि अत्यन्त महत्वपूर्ण रहेको बताएका थिए ।
ट्रम्पको चीन भ्रमणकै बीच बेइजिङले १५ महिनापछि अमेरिकी गाईको मासु आयातमा पुनः अनुमति दिएको छ । चीनले सयौं अमेरिकी मासु प्रशोधन कम्पनीलाई फेरि निर्यात अनुमति दिएको हो । यो निर्णय ट्रम्प र जिनपीङको भेटवार्ताअघि सार्वजनिक गरिएको हो । सन् २०२० मा चीनले ३०० भन्दा बढी अमेरिकी कम्पनीलाई गाईको मासु निर्यात अनुमति दिएको थियो । तर मार्च २०२५ मा ती अनुमति नवीकरण गरिएको थिएन । त्यसलाई ट्रम्प प्रशासनले लगाएको प्रारम्भिक भन्सार करको प्रतिक्रियाका रूपमा हेरिएको थियो ।
विभिन्न प्रतिवेदनका अनुसार नयाँ अनुमति सन् २०२९ सम्मका विभिन्न अवधिका लागि जारी गरिएको छ । यद्यपि यसले ठूलो परिमाणमा खरिद हुने सुनिश्चितता भने नदिने बताइएको छ, किनकि चीनले आयातमा कोटा प्रणाली लागू गर्दै आएको छ । यस वर्ष अमेरिकाका लागि गाईको मासु आयात कोटा एक लाख ६४ हजार मेट्रिक टन तोकिएको छ भने ब्राजिलका लागि ११ लाख मेट्रिक टन निर्धारण गरिएको छ ।
भेटवार्ताका क्रममा ट्रम्प र चिनफिङले अमेरिका–चीन सम्बन्धलाई रचनात्मक, रणनीतिक र स्थिर बनाउने विषयमा सहमति जनाएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दुवै देशबीच नयाँ ढाँचाको समझदारी बनेको छ, जसले आगामी तीन वर्ष र त्यसपछिका सम्बन्धलाई रणनीतिक दिशा दिनेछ ।
जिनपीङले आर्थिक तथा व्यापारिक टोलीबीच भएका वार्ताबाट सकारात्मक र सन्तुलित नतिजा आएको बताए । उनले सकारात्मक वातावरण कायम राख्न दुवै पक्षले मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले चीनको बजार अमेरिकी कम्पनीका लागि अझ खुला हुने पनि बताएका छन् । चिनफिङका अनुसार अमेरिकी कम्पनीले लामो समयदेखि चीनको आर्थिक विकास र सुधार प्रक्रियामा भूमिका खेल्दै आएका छन् ।
बेइजिङमा भएको बैठकमा इरान युद्ध, युक्रेन संकट तथा अन्य अन्तर्राष्ट्रिय विषयमा पनि छलफल भएको छ । चिनियाँ विदेश मन्त्रालयका अनुसार दुवै नेताले मध्यपूर्वको अवस्था, युक्रेन संकट र कोरियाली प्रायद्वीपको परिस्थितिबारे विचार आदानप्रदान गरेका थिए ।



