ठोस नीतिसहित मोतिपुर औद्योगिक क्षेत्र निर्माण र सेज सञ्चालन गर्न उद्योगीहरुको माग

by समतल अनलाइन

बुटवल । नयाँ औद्योगिक क्षेत्रको स्थापना, औद्योगिक वातावरण र अर्थतन्त्रलाई चलायमान बनाउनका लागि राज्यले ठोस निति र विधि रुपन्देहीका उद्योगीहरुले माग गरेका छन् । लामो समयसम्म नयाँ औद्योगिक क्षेत्रहरु निमार्ण नहुँदा र भएका औद्योगिक क्षेत्रहरुको सहि व्यवस्थापन नहुँदा जग्गा अभावमा उद्योगहरुले समस्या झेल्नु उद्योगीहरुले गुनासो गरेका छन् ।

रुपन्देही उद्योग संघले आइतबार बुटवलमा आयोजना गरेको मोतिपुर औद्योगिक क्षेत्रको निर्माण र सेजको संचालनको अवस्था विषयक अन्तरक्रियामा सहभागीहरुले नीतिगत रुपमा नै राज्यले उद्योगीहरुको समस्यालाई सम्बोधन गरी ठोस कार्यान्वयनमा जान आग्रह गरे । कार्यक्रममा विषयवस्तु राख्दै संघका अध्यक्ष दिलिप सापकोटाले औद्योगिक विकास गर्ने कुरामा राजनीतिक विवाद नगरेर अगाडि बढ्न आग्रह गरे । यस क्षेत्रमा नयाँ औद्योगिक क्षेत्रको निकै जरुरी भएको र त्यसको समाधानका लागि अगाडि बढाइएको मोतीपुर औद्योगिक क्षेत्रको निमार्णमा देखिएको अवरोधलाई समाधान गर्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई अनुरोध गरे । साथै उनले बुटवल धागो कारखानाको व्यवस्थापन र भैरहवा स्थित सेज संचालनका लागि सम्बन्धित निकायहरुको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए ।

अन्तरक्रिया कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरुले लामो समयसम्म पनि नयाँ औद्योगिक क्षेत्रहरु स्थापना गर्न नसक्नु औद्योगिक विकासको लागि राम्रो संकेत नभएको बताउँदै मोतिपुर औद्योगिक क्षेत्रको निर्माण कार्य तत्काल अगाडि बढाउन र बन्द धागो कारखानाले उपभोग गरिरहेको जग्गा एवं भवनको सदुपयोग गर्ने तर्फ ध्यान दिन आग्रह गरेका थिए ।

कार्यक्रममा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका केन्द्रीय अध्यक्ष बाबुराम पन्तले आफू नेत्तृत्वमा आएसँगै मोतिपुर औद्योगिक क्षेत्रको निर्माण, बन्द बुटवल धागो कारखाना संचालन एवं जग्गाको प्रयोग तथा सेज र औद्योगिक क्षेत्रबीच मर्जरको कामलाई प्राथमिकतामा राखेको बताए । अध्यक्ष पन्तले बुटवल धागोलाई पुनः संचालनमा ल्याउन वा त्यसको स्थानमा नयाँ उद्योग संचालन गर्ने विषयलाई आफूले सम्बन्धित निकायमा स्पष्टसँग कुरा राखेको बताउँदै खाली रहेको जग्गाको सदुपयोग गर्ने कुरामा छिट्टै निर्णय गरेर अगाडि बढ्ने प्रतिवद्धता जानाए । उनले मोतीपुर औद्योगिक क्षेत्रको नाममा रहेको सबै जग्गामा विवादका कारण सिमाङ्कन गरी एकैपटक काम अगाडि बढाउन नसकिने कुरामा आफूहरु स्पष्ट भएको उल्लेख गर्दै विकल्पमा रहेको कम विवादित २७० विघा जग्गामा औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाउने सोंचका साथ सहमति गरी काम अगाडि बढाएको जानकारी गराए ।

कार्यक्रममा उठेका जिज्ञाशाहरुको जवाफ दिदै अध्यक्ष पन्तले सरकारले संचालनमा ल्याएका सेज संचालनमा कठिनाईहरु देखिएको हुँदा त्यसलाई औद्योगिक क्षेत्रसँग मर्जको प्रस्ताव अगाडि बढाएको र सेजमा देखिएका समस्या समाधान गरी उद्योग मैत्री वतावरण निर्माण गर्नेतर्फ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अगाडि बढेको जानकारी गराए । आफू उद्योगी समेत भएका कारण उद्योगीहरुको समस्यालाई छाडेर कुनै काम अगाडि नबढाउने प्रतिवद्धता जनाउँदै पन्तले उद्योगीहरुका सुझाव र आवश्यकता अनुसार औद्योगिक विकासमा लाग्ने बताए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघ, लुम्बिनी प्रदेश अध्यक्ष एवं रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष एजाज आलमले मोतीपुर औद्योगिक क्षेत्रमा देखिएका समस्या एकै पटक समाधान हुन सक्ने अवस्था नभएका कारण सहज रहेको क्षेत्रबाट काम अगाडि बढाउन आग्रह गरे । सो क्षेत्रको कामलाई अगाडि बढाउनका लागि नीजि क्षेत्रको दवावमुलक पहल जरुरी रहेको आलमको भनाई थियो ।

कार्यक्रममा रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष डम्मरदेव अर्याल, बाबुराम बोहोरा, गणेश प्रसाद अधिकारी, निवर्तमान अध्यक्ष माधव प्रसाद पौडेल, उद्योगी भुपाल कुमार श्रेष्ठ, अजयमान श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, पूर्व अध्यक्ष नवराज श्रेष्ठ, बुटवल औद्योगिक क्षेत्र उद्योग संघका उपाध्यक्ष उपेन्द्र अग्रवाल, पञ्चकन्या ग्रुपका महाप्रवन्धक देवेन्द्र शाहु, रत्नहरि गौतम लगायत उद्योगका समस्याहरु बारे जानकारी गराएका थिए । कार्यक्रम संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षता, महासचिव हिरामणी भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like