११ महिनापछि आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् छलफलका १० एजेण्डा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (मंगलबार) ११ महिना पछि बस्दैछ । बैठक पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजेदेखि सुरु हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

यसअघि असार २७ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएपछि साउन २ गते (मंगलबार) का लागि सरेको थियो । बैठकमा छलफलका लागि १० एजेण्डा तय भएको महामन्त्री शर्माले बताएका छन् । बैठकका एजेण्डा तय गर्न सोमबार पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बोलाएका थिए । पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा सभापति देउवासहित महामन्त्रीद्वय गगन थापा र शर्माले बैठकका एजेण्डाका सन्दर्भमा प्रस्ताव राखेका थिए ।

समसामियक राजनीतिक घटनाक्रम, सांगठनिक कार्ययोजना, राष्ट्रव्यापी अभियानको घोषणा, कार्य सम्पादन समिति बैठकका निर्णय अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदन, नीति अधिवेशनको प्रस्ताव, विभाग गठन, अनुशासन समितिको प्रतिवेदन पेस, संसदीय दलको समीक्षा र संघ, प्रदेश र स्थानीय सरकारको समीक्षासँग सम्बन्धित विषय छलफलको एजेण्डा तय भएका छन् ।

महामन्त्री शर्माका अनुसार यो पटक धेरै लामो समयपछि बैठक बस्न लागेका कारण कम्तीमा एक हप्तासम्म चल्ने छ । पहिलो दिन दिउँसो १ बजेदेखि सुरु हुने बैठक त्यसपछि भने हरेक दिन बिहान ११ बजेदेखि सुरु हुनेछ ।

 
 
  
 

You may also like