विनोदले भाँडा किन्ने बहानामा गएर निरुको हत्या गरे, लुटेको सिक्री बेचेर मेवाइल किने हत्यामा प्रयोग भएको चक्कु मनोहरा खोलामा फ्याँकेको बयान

काठमाडौं । सरस्वती नगरकी निरा पाण्डे आचार्य (निरु) को हत्यामा झापाका विनोद विश्वकर्मा एक्लै संलग्न भएको प्रहरीले जनाएको छ । आज पत्रकार सम्मेलन गरी प्रहरीले अहिलेसम्मको अनुसन्धानबारे जानकारी दिएको हो ।

प्रहरीका अनुसार झापामा बाउन्सरको काम गर्ने विश्वकर्मा घटनाको एक हप्ता जति अगाडि काठमाडौं आएर लोकन्थलीमा साथीको घरमा बसेका थिए । घटनाको दिन उनी लोकन्थलीबाट सात बजे बस चढेर केएल टावर पुगेको र त्यहाँबाट निरा आचार्यको पसलमा पुगेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का एसएसपी दिनेश आचार्यले बताए ।

आचार्यका अनुसार सुरुमा पसलमा गएर उनले भाँडाको मोलमोलाइ गरेका थिए । केही भाँडाहरु रोजिसकेपछि पैसा निकालेर ल्याउने बहानामा पसलबाट निस्किएको उनले बयान दिएका छन् । ‘पसलबाट निस्किएएर १०÷१५ मिनेटपछि दिउँसो २ः४४ मा फेरि फर्केर आक्रमण भएको देखिएको छ’, उनले भने । विश्वकर्माले पसलमै रहेको चक्कुले प्रहार गरेका थिए ।

उनले कुनै हतियार लगेका थिएनन् । हत्यापछि उनी त्यहीँ लुगा फेरेर निस्किएको र टेम्पु चढेर भागेको प्रहरीले जनाएको छ । पाण्डेको हत्यामा प्रयोग गरिएको चक्कु मनोहरा खोलामा फ्याकेको बयान विनोद विकले दिएका छन् । आचार्यका अनुसार विश्वकर्माले निरुले लगाएको करिब एक तोलाको सिक्रीका साथै पसलको ड्रयरबाट ११-१२ सय रुपैयाँ लुटेका छन् । लुटेको सिक्री उनले तारकेश्वरको पाथीभर ज्वेलर्समा बेच्न भ्याइसकेका थिए ।

प्रहरी उक्त सिक्री पनि फेला पारेको छ । पाण्डेबाट लुटेको करिब एक तोलाको सिक्री ५५ हजारमा बेचेर उनले १० हजारको नयाँ मोबाइल फोन किनेका थिए । विश्वकर्माले अपराध स्वीकार गरिसकेको आचार्यले जानकारी दिए । आफू ऋणमा रहेकाले पैसाकै लागि लुटपाट गरेको विश्वकर्माले बयान दिएका छन् । उनको घरमा श्रीमती हुँदाहुँदै अन्यत्र अफेयर रहेको पनि खुलेको छ ।

मृतक र उनको परिवारसँग विश्वकर्माको कुनै सम्बन्ध र चिनजान देखिएको छैन । उनी झापाबाट हत्याकै नियतले भने नआएको एसएसपी आचार्यले जानकारी दिए । हत्यामा लुटपाट भन्दा अर्काे उद्देश्य नभेटिएको उनको भनाइ छ ।

 
 
  
 

You may also like