रोहितको उत्कृष्ट ब्याटिङमा नेपालले कुवेतलाई दियो २८२ रनको लक्ष्य

काठमाडौं । रोहित पौडेलको उत्कृष्ट ब्याटिङमा नेपालले जारी एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा कुवेतलाई २ सय ८२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण अवरुद्ध भएपछि ४२ ओभरमा छोट्याइएको खेलमा नेपालले ९ विकेट गुमाउँदै २८१ रनको योगफल तयार पार्‍यो ।

नेपालका कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र तीन छक्कासहित सर्वाधिक ९४ रनको इनिङ खेले । कप्तान मोहमद अस्लामको बलमा यासिन पटेलबाट क्याच आउट हुँदा रोहित ६ रनले शतक बनाउन चुके ।

रोहितले यसअघि, चौथो विकेटका लागि कुशल मल्लसँग १ सय ९ रनको साझेदारी गरेका थिए ।

कुशल ४४ बलमा समान ४ चौका र छक्कासहित ५७ रनमा आउट भए ।

पहिलो विकेटका लागि आसिफ शेखसँग ७७ रनको साझेदारी गर्दै ओपनर कुशल भुर्तेल ४३ रनमा आउट भए ।

अदनन् इद्रिसको बलमा यासिन पटेलबाट क्याचआउट हुनु अघि कुशलले ३९ बल खेल्दै ७ चौका र एक छक्का प्रहार गरे ।

आसिफ २८ बलमा १ चौका र तीन छक्कासहित ३१ रन बनाएर पभेलियन फर्काएका थिए ।

आरिफ शेख १९ बलमा २ चौका र १ छक्काको मद्दतमा १९ रन बनाएर रन आउट भए । भने, सोमपाल कामी १३ रनमा अविजित रहे ।

कुवेतको बलिङमा मोहमद अस्लाम र अदनन् इद्रिसले समान तीन–तीन विकेट लिए । यासिन पटेल र सायब मोनिबले समान एक विकेट लिए ।

 
 
  
 

You may also like