‘पाल्पा महोत्सव २०८०’ सुरु

पाल्पा ।पाल्पा महोत्सव २०८०’ सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले महाेत्सवकाे उद्घाटन गर्दै देशमा अर्थतन्त्रलाइ चलायमान बनाउन निजी क्षेत्रकाे उल्लेख्य भूमिका रहने बताए ।

महाेत्सव सुभारम्भका अवसरमा बिहिबार टोल विकास संस्था, संघसंस्था, धार्मिक संघसंस्था, व्यापारिक प्रतिष्ठानको सहभागितामा जनचेतनामूलक र्‍याली निकालिएको थियो । जनचेतनामूलक प्लेकार्डसहित तानसेन नगरको परिक्रम गरेकाे थियाे ।

महोत्सवमा पाल्पाली करुवा र रानीमहलको स्वरुप भित्र सचिवालय निर्माण गरिएकाे छ । महोत्सव अवधिभर सांस्कृतिक कार्यक्रम, कला केन्द्रद्वारा प्रस्तुत नृत्य, स्थानीय तथा राष्ट्रिय कलाकारद्वारा मनोरन्जनात्मक कार्यक्रम हुने सांस्कृतिक कार्यक्रम संयोजक भिमबहादुर श्रेष्ठले बतार् ।

२४ गतेसम्म चल्ने १३ औं संस्करणको यो महोत्सवमा हरेक दिनजसो राष्ट्रिय ख्यातीप्राप्त तथा स्थानीयस्तरका कलाकारहरुको सांगीतिक प्रस्तुति रहने आयाेजक संस्था पाल्पा उद्याेग वाणिज्य संघले जनाएकाे छ । चर्चित गायकहरू शिव परियार, राजु परियार, बद्री पंगेनी, पशुपति शर्मादेखि खुमन अधिकारी, रामजी खाँण, शिरीष देवकोटा लगायतका कलाकारहरुले महोत्सवमा आफ्ना चर्चित गीतमार्फत स्रोता/दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने कार्यक्रम रहेकाे सांस्कृतिक संयाेजक श्रेष्ठले बताए ।

त्यस्तै, चर्चित गायिका शान्तिश्री परियार, ज्योति मगर, मन्जु पौडेलदेखि पछिल्लो पुस्ताकी चर्चित गायिका एलिना चौहानसम्मको प्रस्तुति महाेत्सवमा रहनेछ ।

महोत्सवमा ३ सय स्टल रहेका छन् । कुटिर उद्योग, पाल्पाली ढाका उद्योग, बेकरिज र तन्दुरी आईटम, होटल, तथा विभिन्न गार्मेन्ट, कस्मेटिक, खाद्यान्न, अटोमोबाईल लगायतका स्टल व्यवस्थापन गरेको स्टल रहेका छन् । महोत्सवमा जेष्ठ नागरिक एवं फरक क्षमता भएका व्यक्तिहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको प्रचारप्रसार संयाेजक विदूर घिमिरेले बताए ।

पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजना, नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा भएको महोत्सवमा जिल्ला समन्वय समिति पाल्पा, तानसेन नगरपालिका, कृषि ज्ञान केन्द्र, पाल्पा र घरेलु तथा साना उद्योग कार्यालय, पाल्पा सहआयोजक रहेका छन् । महोत्सवले जिल्लाको आर्थिक, सामाजिक विकासमा टेवा पुग्नुका साथै कृषि, पर्यटन, उद्योग व्यवसायको प्रवर्द्धन गर्दै ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचानलाई अझ बढी प्रचारात्मक बनाई आन्तरिक पर्यटक अभिवृद्धि गर्ने उद्देश्य रहेको महाेत्सव संयाेजक शैलेन्द्र भटराईले बताए ।

 

 
 
  
 

You may also like