लिलारामले उचाल्यो राष्ट्रपति रनिङ्ग शिल्ड

by समतल अनलाइन

भैरहवा।रुपन्देहीको सिद्धार्थनगर नगरपलिकाद्धारा आयोजित नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी रुपन्देही लिलाराम न्यौपाने माध्यमिक विधालयले उचालेको छ ।

पक्लिहवा कृषि क्याम्पसको खेल मैदानमा तीन दिनसम्म संचालन भएको प्रतियोगिताको विभिन्न खेलमा नौ स्वर्ण, नौ रजत र सात काश्य गरी कुल २५ पदक प्राप्तीसँगै लिलारामले राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी उचालेको रुपन्देही जिल्ला खेलकुद विकास समितीका मुख्य प्रशिक्षक उमेश थापाले बताए ।

उनका अनुसार साई ग्लोबल माध्यमिक विधालयले पाँच स्वर्ण, चार रजत , दुई काश्य गरी कुल एघार पदकको प्राप्त गरी द्वित्तिय र तीन स्वर्ण, तीन रजत र पाँच काश्य गरी कुल एघार पदक सहित जेसिज माध्यमिक विद्यालय तृतिय भएको छ ।

समापन समारोहमा विजेताहरुलाई स्वर्ण, रजत र काश्य पदक सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, उपप्रमुख उमा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले प्रदान गरेका थिए । सोही अवसरमा दोस्रो अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगितामा सिद्धार्थनगर नगरपालिकाको कार्यालय द्वित्तिय भएकोमा खेलमा सहभागी कर्मचारी खेलाडी र व्यवस्थापकलाई पनि नगरपालिकाको कार्यालयले सम्मान गरेको छ ।

यस्तै मलेसियामा संचालित सरावाक बोर्नियो कप इन्टरनेसनल तेकवान्दो च्याम्पियनसिपको पुरुष तर्फ ८० र ८७ के.जी तौल समूह माथीको खेलमा स्वर्ण पदक प्राप्त सिद्धार्थनगर वडा नम्बर ८ का खेलाडीद्धय अभिषेक बराल र आशुतोष बराललाई प्रशंसा पत्र सहित सम्मान गरिएको छ ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले सिद्धार्थनगर खेलाडीको उर्वर भुमि रहेको भन्दै आफुहरुले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको र गर्दै जाने बताए । उनले स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेकोले खेल क्षेत्रको विकास आवश्यक रहेको बताए ।

उनले सेवा सुविधाको अभावमा खेलाडीहरुले अन्तराष्ट्रिय स्तरमा उत्कृष्ट खेल प्रर्दशन गरी राज्यको सम्मान अभिवृद्धि गर्नमा सहयोग पुर्याउँदै आएपनि राज्यले चाहे जति गर्न नसके पनि आफुहरुले सकेसम्म सहयोग गर्ने बताए ।

सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले प्रत्येक विधालयले खेलकुद प्रशिक्षक र खेलकुद कक्षा संचालन गर्नुपर्ने बताउँदै सुधारका कार्यहरु विद्यालयले आफैबाट सुरु गर्नु पर्ने जनाइन् । उनले खेलाडी माथी राजनिती गर्न नहुने भन्दै आफुहरुले माया गर्ने गरेको बताइन् । ‘विद्यालय आफुले गर्नुपर्ने कर्तव्य पुरा गरेर सुरुवात गरोस्, हामीले के गर्नुपर्ने हो त्यो गर्न तयार छौँ’ उनले भनिन् ।

प्रतियोगितामा छात्र–छात्रा तर्फ भलिबल, कबड्डी, एथलेटिक्स र मार्शल आर्ट खेल भएको सिद्धार्थनगर नगरपालिकाका शिक्षा अधिकृत जाह्नवी पाण्डेयले बताइन् । उनका अनुसार एथलेटिक्स अन्र्तगत छात्र र छात्रा तर्फ एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय, तीन हजार मिटर दौड साथै चार गुणे एक सय , चार गुणे चार सय मिटर रिले दौड भएका थिए ।

त्यस्तै छात्रा र छात्रा तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट खेल प्रतियोगिता सम्पन्न भएको थियो । यस्तै मार्शल आर्ट अन्र्तगत तेक्वान्दो खेलको छात्रा तर्फ ४२ के.जी तौल समूह मुनि, ४४ के.जी मुनि, ४६ के.जी मुनि र छात्र तर्फ ४५ के.जी, ४८ के.जी, ५१ के.जी तौल समूह मुनि खेल भएको थियो । सो अवसरमा प्रर्दशनको रुपमा कराँते खेल समेत भएको थियो ।

 
 
  
 

You may also like