भौतिकमन्त्रीको निर्देशन : जसले सडक भत्कायो, उसैले १५ दिनमा मर्मत गरिसक्नू

by समतल अनलाइन

काठमाडौँ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ उपत्यकामा अवस्थामा रहेको सडक जुन निकायले बिगारेको उसैले १५ दिनभित्र मर्मत गरिसक्न निर्देशन दिएका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रालयमा बिहीबार नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल दूरसञ्चार संस्थान, मेलम्ची खानेपानी विकास समितिलगायत सेवा प्रदायक संस्थाका प्रमुख र प्रतिनिधिसँगको बैठकमा तत्कालको समस्या समाधान गरेर भविष्यमा समस्या दोहोरिन नदिन भनेका हुन् ।

उनले कुनै पनि निकायले काम गर्दा सडक भत्किएमामा सडक विभागको गुणस्तर अनुसार आफैले मर्मत गर्नुपर्ने बताए । उपप्रधानमन्त्री श्रेष्ठले उपत्यकाको सडक राम्रो बनाउन र नागरिकलाई सजिलो बनाउन एकले अर्कोलाई दोष दिनुभन्दा मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

सबै निकायले एकीकृतरुपमा योजना बनाएर पूर्ण गतिमा काम गर्न लाग्नुपर्ने उनले बताए । ‘कहिले कुन कहिले कुन निकायले भत्काउँदा जनता निरासा भएका छन्, त्यसको समाधान गर्नेगरी लाग्नुपर्छ’, उनले भने । उपत्यकाका सडकमा संरचना रहेका सबै निकायका प्रतिनिधिको बैठक महिनामा दुई पटक बस्न पनि उपप्रधानमन्त्री श्रेष्ठले निर्देशन दिए ।

प्रत्येक महिनाको दोस्रो शुक्रबार र अन्तिम शुक्रबार २ बजे बैठक बस्ने तय भएको छ । अब पहिलो बैठक सडक विभागमा बस्ने निर्णय भएको छ । उपत्यकाका सडकका खाल्डाखुल्डी स्थलगत अवलोकनका लागि सबै सरोकारवाला निकायका प्रतिनिधि शुक्रबार भैँसेपाटी जम्मा भएर विभिन्न स्थानमा पुग्ने भएका छन् ।

 
 
  
 

You may also like