बुटवल उपमहानगरको अगाडी बाँदरको शालिक किन ? अन्यौलता र उत्सुकता

by समतल अनलाइन

हरिश ढकाल
बुटवल । बुटवल उपमहागरपालीका कार्यालयको नवनिर्मित अत्याधुनिक भवनको अगाडी कम्पाउण्डमा मानव जातीको पुर्खा भनेर चिनिने अर्थात एउटा नरबानरको मुर्ती स्थापना गरिएको छ । झट्ट हेर्दा बाँदर जस्तो देखिए पनि यो मुर्ती झण्डै १ करोड १० लाख बर्ष पुरानो आदीमानव अर्थात रामापिथेकशको हो । नेपालको बर्तमान चुरेपर्वत क्षेत्र अर्थात प्राचिन शिवालिक पर्वत क्षेत्रमा बिचरण गर्ने मानव ईतिहासको सबै भन्दा पुरानो पुस्ताका रुपमा रहेको यो नरबानरको मुर्ती स्थापना गरिसकेपछि उपमहानगरबासीबाट बिभिन्न क्रिया प्रतिक्रिया ब्यक्त हुन थालेका छन् ।

बुटवल उपमहानगर वडा नम्बर १ पुरानो बटौलीका बिजय श्रेष्ठ आफ्नो ५ बर्षिय नातीलाई लिएर नयाँ उपमहानगरपालीका भवन हेर्न आएका बेला त्यो मुर्ती देखाउदै नातीले सोध्यो ‘हजुरवा यो के हो ?’ बिजयले भने ‘बाबु यो मुर्ती हो’ नातीले फेरी सोध्यो ‘कस्को मुर्ती हो ?’ बिजयले भने ‘रामापिथेकश भन्ने मान्छे पुर्खा हो ।’ नातीले थप प्रश्न गर्यो ‘यसको कट्टु खै त ? उनले जवाफ दिए ‘कट्टु लगाईदिन बिर्सेछन बाबु ।’ यति कुरा भैसकेपछि बिजयले नातीलाई अर्कैतिर जानेर लैजाने प्रयास गरे, ध्यान अन्तै मोड्ने प्रयास गरे ।

बिजय र नाती प्रतिनिधी पात्र हुन, यहाँ आउने सेवाग्राही जनता, जनप्रतिनिधी र कर्मचारी समेत यो मुर्ती हेरेपछि के होला भनेर एक पटक चासो ब्यक्त गर्छन तर पछि नाक खुम्च्याउछन् । कतिपय लाज मान्छन् कतिपय जिस्किन्छन, तर उनिहरु प्रायः सबैको जिज्ञाशा एउटै हुन्छ ‘उपमहागरपालीकाको नवनिर्मित भवनको प्रांगणमा यस्तो नाङ्गो मुर्ती किन राख्या होला ? यसलाई थप ब्यबस्थित र सुसज्जित ढंगले राख्न सकिन्थ्यो, ऐतिहासिक महत्वको बिषयलाई खुल्ला ठाउमा राखेर यसको सम्मान गर्न खोज्दा झन अपमान भयो कि ?’ पछिल्लो समय त शहरका चोक र सडकमा पनि रामापिथेकशका शालिक स्थापना गर्ने लहर चलेको स्थानियको भनाई छ ।

आधुनिक संग्राहलय बनाएर ब्यबस्थित तरिकाले राखेर उच्च महत्वका टिकट काटेर हेर्ने र यसको बारेमा अध्ययन, अनुसन्धान गर्ने सामाग्रीहरु समेत राखेर मानव जातीको ईतिहास जगजाहेर गर्ने वातावरण बनाउनु पर्ने कुरामा उनिहरुको सुझाव छ । प्रागःऐतिहासिक महत्वको प्राचिन मानव रामापिथेकसको बारेमा जानकारी सहित ब्यबस्थित र सभ्य तरिकाले बिशेष स्थान बनाएर राख्नु राम्रो हुने उनिहरुको धारणा छ ।

वरिष्ठ अधिबक्ता बेनबहादुर क्षेत्री काम बिशेषले उपमहानगरपालीका कार्यालय पुग्दा रामापिथेकसको मुर्ती राखेको देखेपछि नजिक पुगेर नियाल्ने प्रयत्न गरे । त्यहाँ मुर्तीको तलपट्टि एउटा मार्वल जस्तो बस्तुमा केही लेखिएको देखेपछि घोरिएर पढे, उनले सोंचेका थिए रामापिथेकशको बारेमा केही लेखिएको होला, त्यस्तो केही पाएनन् । उनले भने ‘रामाथिेकशको बारेमा एक शब्द पनि छैन, त्यहाँ त तत्कालिन नगरप्रमुख शिवराज सुबेदी र पुर्व अर्थमन्त्री बिष्णुप्रसादको नाम मात्र पटक पटक उल्लेख गरिएको छ । रामापिथेकश के हो ? यसको ईतिहास के हो ? बर्तमानमा यसको महत्व के हो ? यसको उत्तर पाईएला कि भनेर घोरिएर पढेको त टाँय टाँय फिस भैयो ।’ आफुलाई यसरी रामापिथेकशको नाममा नाङ्गो मुर्ती राखेको मन नपरेको उल्लेख गर्दै वरिष्ठ अधिबक्ता क्षेत्रीले भने ‘ईतिहास, कला, कृति र बिशिष्ट महत्वको बिषयलाई उचित ढंगले ब्यबस्थापन गर्नु पर्छ, यसरी हल्का ढंगले राखिनु ठिक लागेन ।’ शान्तिका अग्रदुत भगवान गौतम बुद्धको शालिक राखेको भए राम्रो हुने सुझाव क्षेत्रीको छ ।

महिला अगुवा तथा सामाजिक अभियान्ता माया गौतमले रामापिथेकस आफैमा प्राचिन ऐतिहासिक बिषयमा चासो राख्ने अनुसन्धान अध्ययन, अन्वेषण गर्नेहरुका लागि महत्वपुर्ण बिषय भएको बताइन् । प्राचिन कालमा मानव जिवनको उत्पत्ती र प्राचिन मानव बिकासको बारेमा आम सर्वसाधारणले रामापिथेकसको यस बिषयमा जान्न पाउनु पनि महत्वपुर्ण बिषय नै हो । तर जसरी यो राखियो त्यो शोभनिय तरिकाले राखिएन भन्ने उनको गुनासो छ । ‘१ करोड १० लाख बर्ष पुराानो आदी मानव रामापिथेकस भनेको पुरुष मात्र हैन होला महिला पनि हुन्छ होला, त्यहाँ पुरुषलाई मात्र बुझिने गरि राखिएको छ । त्यो चाँही अलिक चित्त बुझेन’ पत्रकार गौतमको भनाई छ ।

नयाँ भवन र अगाडी पानीको फोहोरासहित प्रांगणमा रामापिथेकसको मुर्ती देखर दंग हुदै सरासर आएर फोटो खिच्नेहरु थुप्रै हुन्छन् । तर पछि नियालेर हेर्दै गएपछि मुर्तीको नाङ्गो रुप देखेपछि लज्जित हुन पुग्छन् । फोटो खिचिसकेपछि कतिले जुम गरेर फोटो हेरेपछि डिलिट गर्छन् । एकजना सेवाग्राहीले महिला कर्मचारीलाई सोधे ‘यो के हो, किन यहाँ राखेको ?’ कर्मचारीले भने ‘यसअघिका मेयरसाप उपमेयरसाप लगाएतका जनप्रतिनिधीले यहिँ राख्ने र यस्तै राख्ने भनेर निर्णय गरेर राखेका हुन् ।’ कर्मचारीहरुलाई पनि यसरी राखेको चित्त नबुझेको कुरा उनले बताईन् ।

ईतिहासकारका अनुसार मानव सभ्यताको उद्गमस्थलका रुपमा रहेको प्राचिन शहर बुटवलको उत्तरपट्टीको जंगलतिर तिनाउ खोलाको किनारमा प्राचिन रामापिथेकसको बंगारा फेला परेको थियो । पुरातत्व बिभागको एक टोलीले अध्ययन अनुसन्धानका क्रममा बुटवल आउदा बिसं २०३७ सालमा हाल तिनाउ जलबिद्युतको बाँधस्थल रहेको ठाँउबाट करिब ४५ मिटर पश्चिम तर्फको पहरामा उक्त पुरातात्विक महत्वको बंगारा फेला पारेको थियो ।

बुटवलका पुर्व उपप्रमुख एवं ईतिहासका अध्ययता बिमलबहादुर शाक्यका अनुसार मानव सभ्यता उत्पत्ती र बिकासका दृष्टिले रामापिथेकसको निकै महत्व छ । यस क्षेत्रमा थप अनुसन्धानको आवश्यक्ता छ । यसको थप अध्ययन, अनुसन्धान र अन्वेषण अझै पुरा हुन नसकेको अवस्थाबारे जानकारी गराउदै शाक्यले भने ‘यसको मुर्ती राख्ने बिषयमा प्रयाप्त छलफल र सरसल्लाहबाट गर्नुपर्ने थियो । त्यहाँ महामानव गौतम बुद्धको राख्न सकिन्थ्यो, उजिरसिंह थापाको पनि राख्न सकिन्थ्यो, तिनवटै महत्वपुर्ण बिषयलाई मिलाएर शोभनिय ढंगले पनि राख्न सकिन्थ्यो ।’ बिना अध्ययन अनुसन्धान राखिएको सो मुर्तीमा रामापिथेकशको गुण र बिशेषता झल्किन्छ कि नाई भन्ने कुराको पनि ख्याल राख्नु पर्ने धारणा अध्ययता शाक्यको रहेको छ ।

पछिल्लो समय बुटवलका मुख्य सडकका डिभाईडरहरुमा पनि रामापिथेकसको शालिक राख्ने लहर चलेको छ । तर रामापिथेकसको बारेमा प्रयाप्त प्रचार र जानकारी नहुँदा मानिसहरु अन्यौलताका साथ उत्सुकता ब्यक्त गर्दछन् । उनिहरुले अपेक्षा गरे बमोजिम जवाफ पनि आउदैन । यसरी उत्पन्न हुने अन्यौलता र उत्सुकता चिरेर मात्र यस्ता मुर्तीहरु राख्न उचित हुने धारणा कतिपय मानिसहरुको छ ।

 
 
  
 

You may also like