कतार विश्वकपको फाइनल खेलेपछि मेस्सीले फुटबलबाट सन्यास लिने

by समतल अनलाइन

काठमाडौं । कतार विश्वकपमा आइतबार हुने फाइनल खेलबाट अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने तयारी गरेका छन् । कतारको लुसेल रंगशालामा बुधबार बिहान भएको खेलमा अजेन्टिनाले क्रोएसियालाई ३–० गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेपछि मेस्सीले फुटबलबाट सन्यास लिने संकेत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मेस्सीले अर्जेन्टिनाको मिडिया आउटलेट डायरियो डेपोर्टिभो ओलेसँग कुरा गर्दै भने, ‘यो उपलब्धि हासिल गर्न पाउँदा, फाइनलमा आफ्नो अन्तिम खेल खेलेर मेरो विश्वकप यात्रा पूरा गर्न पाउँदा म धेरै खुशी छु ।’ ‘अर्कोको लागि धेरै वर्ष लाग्छ र मलाई लाग्दैन कि म यो गर्न सक्षम हुनेछु । यसरी समाप्त गर्नु सबैभन्दा राम्रो हो’, मेस्सीले भनेका छन् ।

अर्जेन्टिना ८ वर्ष पछि विश्वकपको फाइनलमा प्रवेश गरेको हो । यसअघि अर्जेन्टिना सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको फाइनलमा जर्मनीसँग पराजित भएको थियो । अर्जेन्टिनाले हालसम्म ५ वटा विश्वकपको फाइनल खेल खेल्दा दुई पटक मात्र विश्वकप जितेको छ ।

अर्जेन्टिनाले सन् १९३०, १९७८, १९८६, १९९० र २०१४ को विश्वकपको फाइनल खेल खेल्दा १९७८ र १९८६ मा मात्र उपाधी हात पार्न सफल बनेको छ । अर्जेन्टिनाले आइतबार हुने फाइनल खेलमा जित हात पारे तेस्रो पटक विश्वकपको उपाधी हात पार्ने छ ।

 
 
  
 

You may also like