सैनामैना । रुपन्देहीको सैनामैनामा राष्ट्रपति रनिङ्ग शिल्ड तथा पाँचौ नगरस्तरीय खेल सप्ताह सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित वडा नं. ७ देउवापारस्थित श्री सरस्वती माध्यमिक विद्यालको खेलमैदानमा एक कार्यक्रमकाबिच सैनामैना नगरप्रमुख चित्र बहादुर कार्कीले उद्घाटन गर्नुभएको हो ।
नगर खेलकुद विकास समितिको आयोजनामा मंगलबादेखि सुरु भएको प्रतियोगिता फागुन २२ गते सम्म चल्नेछ । प्रतियोगितामा ६ विद्यामा खेल खेलाइने छ । जसअन्तर्गत एथलेटिक्स, भलिबल,कवड्डी, क्रिकेट छात्र डिउज बल, फुटबल छात्र र तेक्वान्डो लगायतका खेल हुने नगर खेलकुद विकास समितिका अध्यक्ष अमर लम्सालले जानकारी दिनुभयो । एथलेटिक्समा पनि २ विद्यामा खेल हुनेछ् । खेलमा छात्र र छात्रा समुह विभाजन गरिएको छ ।
जसमा ट्रयाक तर्फ कक्षा ६ देखि १० सम्म छात्र —छात्रा १ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार मिटर दौड प्रतियोगिता हुनेछन् भने रिलेदौड प्रतियोगिता समेत हुने समितिले जनाएको छ । ट्रयाकतर्फ नै कक्षा ११ र १२ तर्फ छात्र —छात्रा दुबै नै ८ सय, १५ सय र ३ हजार मिटर दौड खेल हुनेछ । त्यस्तै एथलेटिक्सकै अर्को विद्या फिल्डतर्फ कक्षा ६ देखि १० सम्म छात्र छात्रामा हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ, थ्रो सटफुटलगायत खेल रहेका छन् । प्रतियोगितामा भलिबल र कबड्डी तर्फ कक्षा ६ देखि १० सम्म र कक्षा ११ र १२ का बिचमा पनि खेल खेलाइने भएको छ । जसमा छात्र —छात्रा समूह विभाजन गरिएको छ ।
नगरका विभिन्न स्थानमा सञ्चालन हुने प्रतियोगितामा क्रिकेट छात्र डिउज बल कक्षा ६ देखि १० सम्म खेल खेलाइनेछ भने कक्षा ११ र १२ का बिचमा छात्र फुटबल प्रतियोगिता हुनेछ ।
त्यस्तै तेक्वान्डो प्रतियोगिता छात्र—छात्रा ऐच्छिक अनुसार हुनेछ । उक्त प्रतियोगितामा सैनामैनाका १६ सामुदायिक र १६ संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न प्रतियोगितामा सहभागी जनाउनेछन् । उद्घाटन कार्यक्रममा नगरका २२ विद्यालयले मार्चपास गरेका छन् ।
जसमा सैनामैना मावि प्रथम, सिद्दार्थ मेमोरियल द्धितीय, कोटियादेवि मावि तृतिय र रामपुर मावि शान्त्वना भएको छ । नगरस्तरीय खेलसप्ताहको उद्घाटन गर्दै प्रमुख कार्कीले खेलकुद प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभा मात्रै नभई विद्यालय विद्यालय बीचको भातृत्व समेत विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।