किभ । युक्रेनको राजधानी किभका वासिन्दा रुसी आक्रमणपछि भागाभागको स्थितिमा छन् । तिनीहरूले हवाई हमलाबाट जोगिने स्थानमा आश्रय लिइरहेका छन् । दोस्रो विश्व युद्धपछि पहिलोपटक किभमा बम प्रहार भएको हो । त्यहाँका सम्पूर्ण वासिन्दाहरू रुसले हमला सुरु गरेपछि ठूलठूला विस्फोटनको आवाज सुनेर बिउँझेका थिए ।
हवाइ हमला सुरु भएसँगै किभमा सायरन बजिरहेको थियो । बिहीबार बिहान सहरका सडकहरूमा मानिसहरू ओहोरदोहोर गरिरहेका देखिन्थे । अधिकांश मानिसहरू हिँडेरै वा बस चढेर आफ्ना कार्यालयतर्फ गइरहेका पनि देखिन्थे ।
अर्काथरि मानिसहरू हतार हतारमा दौडिँदै हवाई हमलाको चपेटाबाट बच्न आश्रयको खोजीमा मेट्रो स्टेसनतर्फ गइरहेका देखिन्थे । केही मानिस भने बैंक, सुपरमार्केट र पेट्रोल स्टेसनहरूमा लामो लाइनमा उभिरहेका थिए । केही मानिस भने आ-आफ्ना कारमा बसेर पश्चिमतिर भागिरहेका देखिन्थे ।
एक जना पुरुषले मलाई बोटोमा रोकेर भने, ‘यो युद्ध हो’ । २७ वर्षीय मार्क नामक उनी बिक्रेता रहेछन् । उनी पनि हामी जस्तै बिहान ७ बजे शक्तिशाली विस्फोटहरू र साइरन सुनेर बिउँझेका रहेछन् । मार्कले तल्लो तल्लामा रुँदै गरेकी एकजना सानी फुच्चीलाई आश्रयका लागि नजिकैको मेट्रो स्टेसनमा पुर्याइ दिएका रहेछन् । युक्रेनको कुल ९ लाख जगेडा सेना मध्ये एक मार्कले सरकारले जुनसुकै बेला बोलाइए पनि आफू रुसविरुद्ध लड्न तयार रहेको उनले बताए । उनले आवश्यक परेको खण्डमा देशका लागि ज्यान पनि दिनसक्ने बताए ।
हामीले बाटैमा एयर रेड सेल्टरमा जान लागेकी एउटा विद्यालयमा काम गर्ने स्भेत्लानालाई भेट्यौं । केही पड्केको आवाज सुनेर उनको पनि बिहान सवेरै निद्रा खुलेको रहेछ । त्यहिबेला रुसले कब्जा गरेको क्रिमियाबाट उनलाई साथीहरूको फोन आयो । तिनीहरूले उनलाई युद्ध सुरु भएको सूचना दिए । उनले तुरुन्तै सेल्टरमा जान आफ्नो सामान प्याक गरिन् । उनले सामानको पोकामा एउटा वास किट र ल्यापटप भने छुटाइनन् । मनोविज्ञानमा मास्टर्स गरिरहेकी उनलाई त्यसले सेल्टरमा पनि अध्ययन सम्बन्धी काम जारी राख्न सजिलो बनाउने उनको विश्वास छ ।
स्भेत्लाना भन्छिन्, ‘अब हामीले के गर्ने भन्नेबारे हामीलाई थाहा छैन । हामी आक्रमणबाट सुरक्षित हुने थलोमा जाँदैछौँ । मैले अहिले कस्तो महशुस गर्दैछु भनी भन्नै सक्तिन । तर म निकै अत्तालिरहेकी छु । धेरै डर लागिरहेको छ ।’
तर उनी दक्षिण-पूर्वी बन्दरगाह सहर म्यारिउपोलमा बस्ने आफ्नो परिवारबारे निकै चिन्तित छिन् । रुसी फौजले त्यही अवतरण गरेको भन्ने खबर आएको छ । किभका जमिनको सतहभन्दा धेरै मुनि बनाइएका मेट्रो स्टेसनहरू अहिले त्यहाँका वासिन्दाको एक मात्र सुरक्षित गन्तव्य बनेका छन् ।
मैले दुई वर्षीय बच्चासँगै एक दम्पतीलाई भेटें । तिनीहरू आफ्ना मोबाइलमा समाचार पछ्याउँदै ‘अब के गर्ने !’ भन्ने मनस्थिति बनाउँदै थिए । निकै डराएका जस्तै देखिने तिनीहरूले अंग्रेजी पनि त्यति बोलिरहेका थिएनन् । तर तिनीहरूले मलाई ’यस्तोबेला नेटो कहाँ छ त ?’ भनी सोधिरहेको बुझेँ ।
किभबाट बाहिरिएर पोल्यान्डको सीमानातर्फ जान पश्चिमी दिशातर्फ भाग्दै गरेका किभवासीहरूका कारण मोटरबाटोमा जाम भइरहेको थियो । ३१ वर्षीय एलेक्स स्भितेल्स्कीले आफूले आफना अभिभावक र बहिनीलाई किभ भन्दा टाढा लग्न चाहेको बताए ।
उनले रुसको आक्रमण आश्चर्यको रूपमा नआएको बताए । उनी भन्छन्, ‘ढिलो वा चाँडो यस्तो दिन आउँछन् भनेर हामी सबैलाई थाहा थियो, र मलाई आशा छ । हाम्रा सेना तयार छन् किनभने तिनीहरू पहिले देखिनै तयारी गर्दै थिए । तिनीहरू डटिरहने कुरामा हामी आशावादी छौँ ।’
तर एलेक्स यदि रुसी फौज किभ आइपुगे भने तिनीहरूले त्यहाँका वासिन्दालाई जथाभाबी अत्याचार गर्ने सम्भावनालाई लिएर डराइरहेका छन् । दोस्रो विश्व युद्धमा पनि हिटलरको नाजीले युक्रेनमा विध्वंश मच्चाएको थियो । त्यसैले उनी सकेसम्म चाँडो आफ्नो परिवारलाई किभबाट सकेसम्म टाढा लैजान चाहन्छन् । बीबीसीबाट