काठमाडौं । १९ वर्षमुनिको महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले भुटानलाई ४-० ले हराएको छ । बङ्गलादेशको ढाकामा हिजो भएको खेलमा भुटानलाई हराउँदै नेपाल फाइनल नजिक पुगेको छ । नेपालका लागि मेनुका आले मगरले दुई तथा कुशुम खतिवडा र रजनी थोकरले एक/एक गोल गरे । यो जितसँगै नेपालले तीन खेलमा ७ अङ्क जोडेको छ ।
नेपालले पहिलो खेलमा आयोजक बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ६-० गोलले हराएको थियो । बङ्गलादेशको पनि तीन खेलमा सात अङ्क छ । नेपालले भोलि भारतसँग खेल्नेछ । भारतको तीन खेलमा ६ अङ्क छ ।
भोलि भारतलाई पराजित गरे नेपाल फाइनलमा पुग्नेछ । प्रतियोगितामा नेपालसहित बङ्गलादेश, भुटान, भारत र श्रीलङ्का सहभागी छन् । फाइनलमा पुग्ने शीर्ष दुई टोलीले उपाधिका लागि ६ गते मङ्गलवार खेल्नेछन् । सन् २०१८ मा भएको च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग फाइनलमा पराजित भएको थियो ।