नेपाल–भारत सम्बन्ध थप कसिलो बनाउने सहमति

by समतल अनलाइन

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच बेलायतमा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागी हुन बेलायत पुगेका दुई समकक्षीबीच साइडलाइन बैठकअन्तर्गत मंगलबार ग्लास्गोमा भेट भएको हो ।

देउवाले प्रधानमन्त्रीको जिम्मेवारी समालेपछि दुई समकक्षीबीच भएको यो पहिलो भेट हो । देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए । झण्डै एक सातासम्म कुनै प्रतिक्रिया नजनाएका मोदीले देउवाले संसद्बाट विश्वासको मत लिएपछि मात्र शुभकामना दिएका थिए । मोदीले देउवाले विश्वासको मत पाएपछि साउन ३ गते मात्र शुभकामना दिएका थिए ।

सामान्यतया नेपाल वा भारतमा प्रधानमन्त्री नियुक्त भएलगत्तै एकअर्का देशका समकक्षीले शुभकामना दिने प्रचलन छ । साथै, नेपालका प्रधानमन्त्रीले पहिलो औपचारिक विदेश भ्रमण भारतबाट थाल्ने गरेको विगतको प्रचलन हो । तर, देउवा पछिल्लो पटक प्रधानमन्त्री भएपछि उनको भारत भ्रमण हुन सकेको छैन ।

यसलाई कतिपयले देउवा प्रधानमन्त्री भएकोमा भारतीय संस्थापन पक्षले नरुचाएको रूपमा पनि अथ्र्याउने गरेका छन् । देउवालाई छिमेकी देशका समकक्षीसँग भेट्ने अवसर जलवायु सम्मेलनमा मिल्यो ।

भेटमा कोभिड–१९ विरुद्ध साझा प्रयास, जलवायु परिवर्तनका असर न्यून गर्न संयुक्त रूपमा काम गर्नेलगायत दुई पक्षीय सम्बन्धका विविध विषयमा फलदायी कुराकानी भएको भारतीय प्रधानमन्त्री मोदीले बताएका छन् ।

दुई नेताबीच नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने सहमतिसहित विविध विषयमा कुराकानी भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले ट्विटरमार्फत जनाएका छन् । भेटमा कोरोना महामारीका बेला भारतले नेपाललाई खोप, औषधि तथा अन्य स्वास्थ्य सामग्री दिएर सहयोग गरेको विषयमा पनि कुराकानी भएको थियो । भारतीय प्रधानमन्त्री मोदीसँग मंगलबार बिहान साइडलाइन भेट गरेका प्रधानमन्त्री देउवाले त्यसपछि श्रीलंकाकाराष्ट्रपति गोटावय राजापक्षसँग पनि भेट गरेका छन् ।

भेटमा दुई पक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । देउवाले मंगलबार नै मंगोलियाका राष्ट्रपति उखाना खुरेलसुखसँग पनि भेट गरेका छन् । सम्मेलनस्थलमा प्रधानमन्त्री देउवाको अमेरिकी राष्ट्रपति जो वाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, संयुक्त राष्ट्रसंघका महासचिव अन्टोनियो गुटेरेसलगायतका नेतासँग पनि भेट भएको छ । नागरिक दैनिकबाट

 

 
 
  
 

You may also like