अफगानिस्तानबाट थप ३२ जना नेपालीको उद्धार

by समतल अनलाइन

काठमाडौ  । सरकारले अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ । शनिबार बिहान अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपाली नागरिकहरुलाई उद्धार गरी स्वदेश फिर्ता गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले जानकारी गराएका हुन् ।

योसँगै अफगानिस्तानमा अब उद्धारका लागि कुनै पनि नेपाली नागरिकहरु नरहेको परराष्ट्र मन्त्रालयको दाबी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सहसचिव घिमिरेले उद्धारको पर्खाइमा अफगानिस्तानमा रहेका नेपाली नागरिकहरु अब नरहेको बताए ।

उनले भने, ‘आज ३२ जना नेपाली आउनु भएको छ । यसपछि अब चाँही उद्धारको पर्खाइमा रहेका नेपालीहरुको संख्या समाप्त भएको छ । त्यहाँ कोही नेपाली रहेको भए त्यो यूएन सिस्टममा रहनु भएको छ । आज नेपाल एयरलाइन्सको दुबई फ्लाइटबाट २९ जना नेपालीहरु आएको र यसअघि आजै बिहान अन्य ३ जना गरी ३२ जना नेपालीहरुको उद्धार गरी स्वदेश फिर्ता गरिएको हो ।’

मन्त्रालयका अनुसार तालिवानी लडाकूले अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँ उद्धारको पर्खाइमा रहेका ९०६ जना नेपाली नागरिकको यसअघि नै उद्धार गरिएको थियो ।

 

 
 
  
 

You may also like