देवदह नपाको नीति तथा कार्यक्रम सार्वजनिक, गत बर्ष भन्दा ६ प्रतिशत कम बजेट बिनियोजन

देवदह । देवदह नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षको भन्दा ६ प्रतिशत कम बजेट बिनियोजन गरेको छ । बिहिबार सार्वजनिक गरीएको आर्थिक बर्ष ०७८/७९ को बार्षिक अनुमानित आय-ब्यय विवरण सहितको निति तथा कार्यक्रममा गत बर्ष भन्दा ६ करोड २५ लाख ५ हजार ४ सय कम बजेट विनियोजन गरिएको हो ।

गत आर्थिक बर्षको कुल बजेट १ अर्व ६३ लाख ७८ हजार भएकोमा आर्थिक बर्ष ०७८-७९ का लागि कुल ९४ करोड ३७ लाख २४ हजार बजेट बिनियोजन गरिएको छ । यसरी बजेटमा गिरावट आएको विषयमा सेतोमसीसंग कुरा गर्दै देवदह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज बेलबासेले बजेटलाई अलि बढी ‘एक्चुअल’ बनाउन खोजिएको बताए । यसपाली कोरोना महामारी र संघीय सरकारबाट अनुदान कम आएकोले पनि बजेट कम हुन गएको उनको भनाई छ । Screenshot_20210625-091317_Drive.jpg

त्यसो त, देवदह नगरपालिकाको आन्तरिक आयमा नै भारी गिरावट आएको छ । गत आर्थिक बर्षमा देवदह नगरपालिकाको आन्तरिक आय २९ करोड ६२ लाख अनुमान गरिएकोमा आगामी आर्थिक बर्षको आन्तरिक आय भने जम्मा १८ करोड ७ लाखको हाराहारीमा अनुमान गरिएको छ । यसरी देवदह नगरपालिकाको आन्तरिक आयमा नै करिव ११ करोडको गिरावट आएको देखिन्छ । यसरी हेर्दा देवदह नगरपालिकाको आन्तरिक आय खस्किदै गएको तथ्यांकले देखाउँछ । received_223491969600558.jpeg

कृषि र पर्यटनको विकासमा मुख्य जोड

बिहिवार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख हिरा बहादुर खत्रीले सधैं झै कृषि र पर्यटनको विकासमा जोड दिईने, प्रदेश सरकारको सहयोगमा ‘एक वडा एक पकेट क्षेत्र कार्यक्रम’ सञ्चालन गरीने, कृषि पेशालाई सम्मानित र व्यवसायिकीकरण गरिने तथा किसानलाई परिचय पत्रको व्यवस्था गरीने बताए ।

नगरपालिकाले कृषकको जीवनस्तर उकास्न तथ्याङ्क संङ्कलन गरेर कृषकको वर्गीकरण गरीने निति तथा कार्यक्रममा उल्लेख गरीएको छ । कृषि क्षेत्रको आधुनिकीकरणका लागि नगदेवाली, मौसमी तथा वेमौसमी तरकारी खेती, मल विऊ, प्रविधि, सिंचाई, उपकरण र विरुवा उत्पादनमा सहयोग पुगने गरी कृषकलाई अनुदान सहयोग गर्ने भएको छ ।

नगरपालिकाले जग्गा चक्लाबन्दि, सिंचाईका लागि विद्युत महसुलमा ५० प्रतिशत छुट, कृषि सहकारी नपुगेका वडामा कृषि सहकारी सञ्चालनमा सहयोग गन, चिस्यान केन्द्र स्थापनाको काम अगाडी वढाउने निति लिएको छ । युवाहरुलाई आधुनिक कृषि पेशामा प्रोत्साहन गर्दै कृषि उपकरणमा अनुदानको व्यवस्था गरीने, उत्पादन लागत घटाउन कृषि हायरिङ सेन्टर स्थापना गर्ने र कृषि एम्बुलेन्सको माध्यमबाट कृषि उत्पादनको बजारीकरणको व्यवस्था गरीने प्रस्तुत निति तथा कार्यक्रममा उल्लेख गरीएको छ ।

साथै नगरपालिकाले माछा पालन, भैसी पालनमा जोड दिदै पशुको कृतिम गर्वधानलाई निरन्तरता दिने भएको छ । एक नगर एक उत्पादन कार्यक्रम अन्तर्गत पशुपालक किसानहरुलाई पशुपालन तथा गुणस्तरीय दुध उत्पादक र व्यवसायीहरुलाई दुधको विविधिकरण सम्बन्धि तालिम सञ्चालन गरीने बताइएको छ ।

पर्यटन तर्फ आन्तरीक तथा बाह्य पर्यटनको गन्तव्यस्थल बनाउन ऐतिहासिक, धार्मिक प्राकृतिक र कृर्षि पर्यटनलाई जोड, बुद्ध मावली क्षेत्रको पर्यटकिय महत्वलाई विश्वव्यापी बनाउन यस संग सम्बन्धित सामाग्रीहरुलाई विभिन्न पार्कमा स्थापित गर्ने, मंगल पुष्करणी दहको विकासका लागि राष्ट्रपति संरक्षण समिती संग पहल गर्ने, महामानव बुद्धसंग सम्बन्धित क्षेत्र भवानीपुर, कन्यामाई, वैरीमाई र खयर डाँडा जस्ता पुरातात्विक क्षेत्रहरुको संरक्षण र उत्खनन गर्ने, विभिन्न जात जातीको मौलिक कला संस्कृतीको संरक्षणमा जोड दिने, लुम्बिनी बौद्ध विश्व विद्यालयले निर्माण गर्ने भौतिक संरचनामा सहजिकरण गर्ने, लुम्बिनी विकास कोषले निर्माण गरेको गोल्डेन टेम्पलमा संग्राहलय र सुचना केन्द्र स्थापना गर्ने, रोहिणी नदि, बौद्ध भिक्षुणी विहार, विभिन्न पार्क, मन्दिर र कामधेनु गौशाला संरक्षण, बौद्धकालिन कला झल्कने गरी देवदह नगरपालिकाको चार स्थानमा प्रवेशद्धार निर्माण गर्ने, पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजना निर्माण गरेर सोही अनुरुप अघि वढ्ने लगायतका कार्यक्रम सार्वजनिक गरीएको छ ।

नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, खेलकुद र सामाजिक विकास

शिक्षा तर्फ गुरुकुल संञ्चालन गर्ने, कक्षा ५ सम्मका बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्ने, शिक्षकहरुलाई तालिमको व्यवस्था गर्ने, सबै सामुदायिक विद्यालयलाई एउटै रङ लगाउने लगायत कार्यक्रम सार्वजनिक गरीएको छ । स्वास्थ्य तर्फ कोभिड–१९ को खोपलाई व्यवस्थीत बनाउने, सबै नगरवासीको स्वास्थ्यमा पहुँच पुर्याउन पहल गर्ने, खानेपानी तथा सरसफाई तर्फ स्वच्छ खानेपानीको उपलब्धताका लागि पहल गर्ने निति तथा कार्यक्रममा उल्लेख गरीएको छ ।

देवदह क्षेत्रका विभिन्न खेल मैदानहरुको निर्माणलाई तिरन्तरता दिने, समावेशीकरणका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने, विद्युत नपुगेका स्थानमा विद्युतिकरण गर्ने, राष्ट्रिय तथा अन्तरराष्ट्रिय सम्बन्ध विस्तारमा जोड दिने,भुमि सम्बन्धि समस्या समाधानका लागि पहल गर्ने नगरपालिकाको निति रहेको छ ।

त्यसैगरी नवौ नगरसभामा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले प्रस्तुत गरेको संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ र स्थानिय निकायबाट समायोजन भएका स्थायी कर्मचारीलाई प्रोत्साहन गर्न बनेको विधेयक पेश गरेकी थिइन । सो मध्ये संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ नगर सभाले पारीत गरेको छ । संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ थप अध्ययनका लागि थाति राखिएको जानकारी दिइएको छ ।

निति तथा कार्यक्रम माथि अमर लामिछाने, खेम बहादुर थापा, धन बहादुर सुनार, देवी अधिकारी, पूर्णकली खरेल, सरस्वती पोखरेल, सावित्री चौधरी, देवु भट्टराई, सिता बिक, खैराज शर्मा र केशवराज राना लगायतले आफ्नो धारणा राखेका थिए ।

 
 
  
 

You may also like