साढे १३ लाख ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश

by समतल अनलाइन
Shares

काठमाडौं। सर्वोच्च अदालतले ६५ वर्षमाथिका साढे १३ लाख ज्येष्ठ नागरिकलाई तत्काल कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको मंगलबारको एकल इजलासले ज्येष्ठ नागरिकले दायर गरेको रिटमा सरकारका नाममा यस्तो आदेश जारी गरेको हो । ज्येष्ठ नागरिक अर्जुनराज गिरीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेका थिए । उनीहरुले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका तर दोस्रो डोज नपाएपछि सर्वोच्च पुगेका थिए ।

गत फागुन २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर ज्येष्ठ नागरिकका लागि खोप अभियान शुरु भएको थियो । ज्येष्ठ नागरिकलाई भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप दिइएको थियो ।

तर १२ हप्ताभित्र दोस्रो डोज खोप दिनुपर्ने भए पनि पहिलो डोज खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकले दोस्रो डोज खोप लगाउन पाएका छैनन् । भारतीय कम्पनीले खोप नदिएपछि सरकारले बेलायतबाट अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको खोप ल्याएर ज्येष्ठ नागरिकलाई दिने बताउँदै आएको छ । तर कहिले आउने टुंगो भने छैन ।

You may also like

This will close in 0 seconds