बुटवल ।नेपालमै पहिलो पटक लिक्विड अक्सिजन प्लान्ट निर्माण कार्य रुपन्देहीमा शुरु भएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर.४, सेमरहवामा शंकर अक्सिजन ग्याँस उद्योग प्रालीले १ अर्बको लागतमा लिक्विड अक्सिजन प्लान्ट स्थापनाको काम शुरु गरेको हो ।कोरोना संक्रमितहरुका लागि अक्सिजनको हाहाकार भएकोले सो अभाव पूर्ति गर्न लिक्विड अक्सिजन प्लान्ट निर्माणको काम शुरु गरिएको सञ्चालकको भनाइ छ ।उद्योगका सञ्चालक एवम प्रबन्ध निर्देशक शंकर अग्रवालले १ अर्बको लगानीमा उद्योग सञ्चालन गर्ने र करिब १ वर्षमा निर्माण सम्पन्न गरी बजारमा पठाउने लक्ष्य राखिएको बताए ।
प्लान्टबाट ६० टन लिक्विड अक्सिजन र १ टन नाईट्रोजन ग्यास प्रति दिन उत्पादन गर्न सकिने जनाइएको छ । यसले नेपालमा अक्सिजनको अभाव धेरै हदसम्म कम गर्ने सञ्चालकको अपेक्षा छ ।लागत, ढुवानी लगायतको खर्चमा कमी हुने भएकोले सामान्य अक्सिजन ग्यास भन्दा यो ग्यासको मूल्य कम पर्ने उद्योगका प्रबन्धक शम्भु भण्डारीले बताए ।उद्योगको शिलान्यस एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुवल रुपमा गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अहिलेसम्म भएको अक्सिजन अभाव अब कम हुने बताए ।उनले अहिलेसम्म सिलिण्डर, लिक्विड अक्सिजन भारतबाट आयात गरिरहनु परेको अवस्थामा अबका दिनमा यो समस्या हटेर जाने बताए ।
प्रधानमन्त्रीले उद्योग सञ्चालनले जनतालाई मात्र नभई उद्यागीलाई पनि अवसर प्रदान गर्ने दावी गरे । सरकारले यस अघि नै घोषणा गरेको लिक्विड अक्सिजन प्लान्ट स्थापनामा दिइने सहुलियत प्रदान गरिने उनले जानकारी दिए ।यस्तै कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले संकटको समयमा अक्सिजनको विषयमा सरकार, सरकारी निकाय र समाजका सबै अङ्गहरुको सामूहिक प्रयासले नै यसलाई समाधान गरिएको बताए ।शिलान्यास कार्यक्रम अघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उद्योगको अवलोकन गरेका थिए ।