149
स्याङजा। केही दिनयताको लगातारको वर्षाले पहिरो जाँदा सिद्धार्थ राजमार्ग ठप्प भएको छ । स्याङ्जा–पोखरा सडकखण्डको भालुपहाडमा बिहान ६ बजे गएको पहिरोले सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन् ।
अहिले पनि पानी परिरहेको र पहिरो पनि खसिरहेकाले हटाउन समस्या भएको उनले बताएका छन् । पहिरो हटाउन पोखराबाट डोजर ल्याउने तयारी भइरहेको उनले बताए ।
बिहानदेखि लगातार पहिरो खसिरहेकाले सडक खुलाउन समय लाग्ने डीएसपी राजेन्द्रप्रसाद अधिकारीले बताएका छन् । भालुपहाडमा सडकलाई चौडा पार्ने काम भइरहेकै बेलामा पहिरो खसेको हो । यो सडकले स्याङ्जा, पाल्पा, पोखरा र बुटवललाई जोडेको छ ।