पहिरोको जोखिममा बस्ती, बर्षा शुरु भएपछि बढ्यो त्रास

स्याङजा । स्याङजाको गल्याङ नगरपालिका-३ लल्याङमा रहेको बस्ती पहिरोको जोखिममा परेको छ । भार्लेको ठूलो पहिरोको नामले चिनिने सो पहिरोका कारण वर्षायामको शुरुआत भएसँगै यस क्षेत्रमा वसोवास गर्दै आएका स्थानीय बासिन्दा त्रसित बनेका हुन् । करिब एक सय घरधुरी रहेको सो क्षेत्रमा पहिरो बस्ती नजिक पुगेपछि स्थानीय बासिन्दामा त्रास छाएको हो ।

पहिरो गएको डाँडाको माथि समथर भूूभाग र उब्जाउपूर्ण जमीनका साथै आँधीखोलाको पानीले सिँचाइको समेत सुविधा भएकाले स्थानीय बासिन्दाले मौसमअनुसारको खेती लगाएर हराभरा बनाएका छन् । यहाँको जमीन धसिदै पहिरो बस्ती नजिकै आएकाले अहिले गाउँले समस्यामा परेका हुन् । स्थानीय युवा छविलाल भट्टराईले पहिरालाई बेलैमा नियन्त्रण गर्न नसके जोखिमपूर्ण अवस्था आउन सक्ने बताए ।

विभिन्न समयमा पहिरो रोकथाम र संरक्षणका लागि कार्यक्रमहरु सञ्चालन भए पनि त्यसले सार्थकता पाउन नसकेको स्थानीय बासिन्दा बताउँछन् । बस्तीको दुवैतिरबाट खोलाले घेरेको र सो क्षेत्रको भूवनोट कमजोर रहेकाले बस्तीभन्दा धेरै तलबाट वरिपरिको पूरै जमीन धस्केको र ठाउँठाउँमा पहिरो निरन्तर गएकाले बस्ती थप जोखिममा परेको हो ।

पहिरोका कारण बस्तीको वरिपरि रहेका खेतमा समेत ठूलाठूला धाँजा फाटेको स्थानीय नेत्रप्रसाद अर्यालले बताए । सो क्षेत्रको जमीन अत्यन्त कमजोर माटाले बनेको र यस क्षेत्रमा चलायमान माटो रहेकाले वस्तीका साथै आँधीखोला जलविद्युत् गृहमा समेत असर पर्ने देखिन्छ ।

 
 
  
 

You may also like