प्रधानमन्त्रीमा निरन्तरता पाउन ओलीलाई चुनौती

काठमाडौं। सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई पुरानै ठाउँमा फर्काइदिएपछि निकै खुसी भएका प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता पाउन भने निकै चुनौती देखिएको छ । ओलीले कुनै पनि बेला संसद्मा आफ्ना पक्षमा बहुमत सिद्ध गर्नुपर्ने अवस्था आएको छ ।

संसद्का अबका बैठकमा आएका कुनै पनि प्रस्ताव वा विधेयक पारित गराउन ओलीलाई प्रमुख चुनौती छ । संविधानविद् डा. विपीन अधिकारी भन्छन्, ‘संसद्मा सरकारले ल्याएका कुनै पनि प्रस्ताव वा विधेयक पारित हुन सकेनन् भने माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा र कांग्रेस वा जसपाले सहयोग नगरेमा सरकार अप्ठेरोमा पर्नेछ ।’ प्रधानमन्त्री राजीनामा दिन नखोजेपछि अब विश्वासको मत नदिएर वा अविश्वासको प्रस्तावबाटै उनलाई हटाउनुपर्ने अवस्था छ ।

सरकारले ल्याएका कुनै पनि प्रस्ताव अस्वीकार भएमा नैतिक रुपमा ओलीले विश्वासको मत लिनुपर्ने अवस्था आउनेछ । सरकारलाई दिएको समर्थन कुनै पनि बेला फिर्ता लिने अवस्थामा माओवादी केन्द्र रहेकाले उसको समर्थन बिना नै आफूलाई प्रधानमन्त्रीमा कायमै राख्न ओलीले विशेष तयारी गर्नुपर्नेछ ।

कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन भएमा मात्र सहयोग गर्ने संकेत दिएको छ भने जसपाभित्र दुई धार छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने अवस्था देखिँदैन तर महन्थ ठाकुर समूहले भने ओलीलाई सहयोग गर्न सक्ने संकेत देखिन्छ । ठाकुर समूहले संविधान संशोधन, रेसम चौधरीसहितको मुद्दा फिर्ताको माग सम्बोधन भएमा समर्थन गर्ने अवस्था देखिएको हो । नागरिक दैनिकबाट

 
 
  
 

You may also like