आज संविधान दिवस : विविध कार्यक्रम गरी मनाइँदै, समाजवादी र राजपाले के गर्दैछन् ?

by समतल अनलाइन

काठमाडाैं । आज असोज ३ अर्थात् संविधान दिवस । सार्वभौम संविधानसभावाट जारी भएको नेपालको पहिलो संविधानले आजबाट चौथो बर्ष पुरा गर्दै छ । २०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाइँदैछ ।

वि.सं. २०७२ असोज ३ गते संविधान सभाको बैठकमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नेपाली जनतासमक्ष संविधान घोषणा गर्नुभएको थियो । सरकारले आज संविधान दिवसको अवसरमा टुंडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

मुलुक संघीय संरचनामा अघि बढेको पनि दुई वर्ष पुरा भइसकेको छ । यता, सरकारले विशेष कार्यक्रम गरी संविधान दिवस मनाइरहँदा असन्तुष्ट पक्षले असोज ३ अर्थात् आजको दिनलाई ‘कालो दिन’का रूपमा स्मरण गर्दै छ । असन्तुष्ट पक्षले संविधान जारी हुँदा ‘ब्ल्याक आउट’ गरेको थियो ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को अग्रसरतामा संविधान जारी हुँदा तराई–मधेसकेन्द्रित दलले भने हस्ताक्षर गरेनन् । ती दल प्रदेश सीमांकनमा असन्तुष्टि जनाउँदै आन्दोलनमा होमिएका थिए ।

संविधान जारी भएसँगै आन्दोलन चर्किंदै गयो, जसका कारण नेपाली जनताले लामो समय भारतीय नाकाबन्दीको सामनासमेत गर्नुपरेको थियो । भारतसँगको नाकाकेन्द्रित आन्दोलनसम्म गरेर सरकारको समर्थकसमेत बनिसके पनि तत्कालीन मधेसी मोर्चाबाट बनेको राजपा र समाजवादी पार्टीको संशोधनको माग अझै रोकिएको छैन ।

समाजवादी पार्टीले संविधान दिवस नमनाउने

सरकारमा रहेको दल समाजवादी पार्टी नेपालले संविधान दिवस नमनाउने निर्णय गरेको छ । वर्तमान सरकारमा उपप्रधानमन्त्रीको हैसियतमा रहेका उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले सरकारले घोषणा गरेभन्दा विपरित संविधान दिवसका दिन कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेको हो ।

समाजवादी पार्टीले ‘संविधान त्रुटीपूर्ण र अपूर्ण रहेकोले संविधान जारी भएको दिन असोज ३ गते खुसीयालीको रूपमा दिपावली वा विरोधका रूपमा कालो दिन दुवै नमनाउने’ जनाएको छ ।

गत सोमबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस दिनमा कुनै पनि कार्यक्रमहरूमा सहभागी नहुने निर्णय गरेको विज्ञप्तीमा जनाइएको छ ।

राजपाले संविधान दिवसको विरोध गर्ने

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संविधान दिवसको विरोध गर्ने निर्णय गरेको छ । संविधान संशोधनको मुद्दा सम्बोधन नभएकोले संविधान दिवसको देशैभर विरोध गर्ने निर्णय गरेको हो।

संविधान दिवसको अघिल्लो दिन विहिबार सप्तरीक जिल्लाका प्रमुख बजारमा कालो झण्डासहित प्रदर्शन, मोटरसाईकल -याली तथा विरोध प्रदर्शन गरेकाे थियाे ।

कालो झण्डा र मोटर साईकल र्‍यालीसहित विरोध प्रदर्शन भई रहँदा राजापका कार्यकर्ताहरुले करिब आधा दर्जन सरकारी कार्यालयमा कालो झण्डा समेत झुण्डाएका थिए ।

‘संविधान संशोधनको मुद्दा सम्बोधन नभएकोले राजपा नेपालले विगतमा संविधान जारी भएको मिति असोज ३ गतेलाई विरोध दिवसको रूपमा मनाउँदै आएकोमा सो कार्यलाई निरन्तरता दिँदै असोज ३ गते देशव्यापी विरोध दिवस मनाउने निर्णय भएको छ,’ प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले भन्नुभयाे ।

 

 
 
  
 

You may also like