विश्वभरी कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो, अमेरिका अति प्रभावित सूचीमा

by समतल अनलाइन

काठमाडौं। विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सूचीमा परेको छ । अमेरिकामा दुई करोड ५० लाख व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । यस भाइरसको सङ्क्रमणको कारण अमेरिकामा चार लाख २० हजार व्यक्तिको मृत्यु भइसकेको छ ।

यद्यपी अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस विरुद्धको खोप कार्यक्रमलाई अगाडि बढाउने वाचा गरेका छन् । अमेरिकाको सम्पूर्ण जनसंख्यालाई खोप लगाउनु एक चुनौतीपूर्ण कार्य भएको र ट्रम्प प्रशासनबाट विरासतमा आएको यो कार्यक्रम अपेक्षा गरेको भन्दा खराब अवस्थामा भएको पनि उनले बताएका छन् ।

अमेरिकाले थप २० करोड डोज कोरोना भाइरसविरुद्ध खोप किन्दै छ र यसपछि लगभग ३० करोड अमेरिकीहरुलाई खोप दिन पर्याप्त हुने बाइडेनले बताएका छन् । कोरोना भाइरसको कारण बेलायतमा पनि एक लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको बेलायतको सरकारी माध्यमले जानकारी दिएको छ ।

विश्वभरी कोरोना भाइरस संक्रमणबाट २१ लाख भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । सात करोड २९ लाख भन्दा बढी व्यक्ति कोरोना भाइरसमुक्त भएका छन् । एएफपी

 
 
  
 

You may also like