गम्भीर लक्षणसहितका संक्रमितले उपचार पाएनन् , कोरोना अस्पतालमा आइसीयु बेडको अभाव

by समतल अनलाइन

बुटवल । शनिबार राति बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालबाट दाङको बेलझुण्डीस्थित अस्थायी कोरोना अस्पताल रेफर गरिएका एक कोरोना संक्रमितको बाटैमा मृत्यु भयो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा रहेका आइसीयुमा बिरामीको ‘ओभर फ्लो’ भएपछि सघन उपचारका लागि उनलाई आइसीयु भएको दाङको अस्पतालमा रेफर गरिएको थियो । तर, अस्पताल पुग्न पाएनन् । कपिलवस्तु र दाङको सिमानामा पर्ने धानखोला पुगेपछि बुटवल ११ का ८४ वर्षीय ती संक्रमित पुरूषको मृत्यु भएको लुम्बिनी अञ्चल अस्पतालले पुष्टि गरेको छ ।

शनिबार नै स्वास्थ्यमा जटिल समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल पुगेपछि त्यहाँ उनलाई कोरोना पोजिटिभ देखिएको थियो । अस्पतालको फिभर क्लिनिकका दुई आइसीयु र अस्पतालले नै धागो कारखानामा सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालका १८ आइसीयु बिरामीले भरिएपछि उनलाई रेफर गर्नु परेको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

कोरोना संक्रमण दर दिनानुदिन उकालो लागिरहेका कारण गम्भीर लक्षणसहितका बिरामीहरूको चाप बढेपछि लुम्बिनी प्रदेशका सबै अस्पतालहरूका आइसीयु भरिएका छन् । सघन उपचारको आवश्यक रहेका संक्रमितहरू लाई आइसीयुको अभावमा सामान्य आइसोलेसन बेडमा राखेर अक्सिजन दिइएको अस्पतालकी नर्सिङ इञ्चार्ज ज्योति पौडेलले बताइन् । ‘आइसीयुमा राख्नु पर्ने पाँच जना संक्रमितहरू सामान्य बेडमा बसेर कुरिरहनु भएको छ । अवस्था भयावह बनेको छ,’ नर्स पौडेलले भनिन्–‘भैरहवा अस्पतालमा पनि आइसीयु भरिएका रहेछन् । अन्त रेफर गर्दा उहाँहरू जान मान्नुभएको छैन ।’

लुम्बिनी प्रदेश मै सबैभन्दा ठूलो क्षमतामा उपचार हुने प्रादेशिक अस्पतालले बेडलगायतका उपकरणहरू खरिद गर्न नसक्दा बिरामीहरूको चाप थेग्न सकेको छैन । कोरोना कोषबाट सरकारले चार वटै अस्पताललाई बिनियोजन गरेको ५०÷५० लाख मध्येबाट प्रादेशिक अस्पतालले दुईवटा भेन्टीलेटरसहितका आइसीयु बेड खरिद गर्ने भनिएपनि हालसम्म खरिद गरेको छैन । उक्त खरिद प्रक्रिया नसकिंदै प्रदेश सरकारले फेरि कोरोना कोषबाट ३० वटा एचडीयु बेड र ५० वटा अक्सीजन पाइपलाइनसहितको आइसोलेसन बेडका लागि दुई करोड १९ लाख दिएको थियो । तर, अस्पताल प्रशासनले खरिद गर्न सकेको छैन ।
यो बाहेक प्रदेशमा सञ्चालित अन्य तीन कोरोना अस्थायी अस्पतालमा आइसीयु रहेपनि प्राविधिकको अभावमा स्तरोन्नती गर्न नसकिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.पुष्पराज पौडेलले बताए ।

हाल रूपन्देहीका दुई तथा बाँके र दाङका एक–एक गरी चार वटा अस्पतालमा ३४ बेडको आइसीय सञ्चालन गरिएको छ । तीमध्ये प्रादेशिक अस्पतालको क्लिनिक फिभरका दुईसहित १८ र भिम अस्पतालका पाँच वटा आइसीयु बेड भरिएका छन् । प्राविधिकको अभावमा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेका दाङ र बाँकेका अस्पतालका आइसीयुमा पनि बिरामीको चाप ह्वात्तै बढेको छ । नेपालगञ्जको भेरी अस्पतालमा एउटा भेन्टिलेटर र ८ बेडको आइसीयसहित ७२ बेडको कोरोना विशेष अस्पताल सञ्चालनमा छ । प्रदेश सरकारले यसअघि कोरोना विशेष अस्पतालको रूपमा सञ्चालन गरेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालका आइसीयु र भेन्टिलेटर भेरी अस्पतालमा सारिएको हो ।

त्यस्तै दाङको बेलझुण्डीमा रहेको कोरोना अस्पतालमा पाँच वटा भेन्टिलेटरसहितको आइसीय बेड सञ्चालनमा छ । प्रदेश सरकारले चैत महिनामा नै दुईवटा भेन्टिलेटर, पाँच बेडको आइसीयु कक्ष सञ्चालन गरे पनि जनशक्ति अभाव हुँदा आइसीयु सञ्चालन हुन सकेको थिएन ।

विगत एक महिनादेखि भने संघीय सरकारले जनशक्तिको व्यवस्था गरेपछि राप्ती प्रादेशिक अस्पतालबाट समेत तीन वटा भेन्टिलेटर थपेर पाँचवटा सञ्चालनमा आएको अस्पतालका कोरोना फोकल पर्सन डा. प्रवेश शर्माले जानकारी दिए ।

प्रदेश सरकारले कोरोना संक्रमितको उपचारको लागि २० करोड रुपैयाँ विनियोजन गरेको भए पनि पर्याप्त आइसीयु र भेन्टिलेटर नहुँदा गम्भीर अवस्थाका कोरोना संक्रमितलाई आइसोलेसनमै उपचार गर्न बाध्य भएको चिकित्सकहरू बताउँछन् । बुटवल कोरोना अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले थप आइसोलेसनका लागि पनि स्रोत साधनको अभाव भइरहेको बताए । गम्भीर अवस्थाका संक्रमितको चाप बढ्दै गएपनि प्रदेशका अस्पतालमा पूर्वाधार र उपकरण नथपिएपछि कोरोना संक्रमितले उपचार नपाउने जोखिम बढेको छ ।संक्रमितले उपचार पाएनन्

लुम्बिनी प्रादेशिक अस्पताललाई भेन्टीलेटरसहितका आइसीयु र एचडीयु बेडका लागि दुई करोड ६९ लाख दिइएको भए पनि खरिद गर्न सकेको छैन ।दैनिक  लुम्बिनीबाट

 
 
  
 

You may also like