ढोरपाटन बाढी–पहिरो : तीन शव फेला, १० जना बढी बेपत्ता, २५ घरमा क्षति

by समतल अनलाइन

बागलुङ। बागलुङको ढोरपाटन नगरपालिकाका विभिन्न वडामा बाढी र पहिरोमा परी कम्तिमा पनि तीन जनाको मृत्यु भएको छ भने १० जनाभन्दा धेरै हराइरहेका छन् ।बाढी र पहिरोले ढोरपाटन नगरपालिकाको १, ५, ६, ७, ८, र ९ नम्बर वडामा क्षति पुगेको छ । बाढीले बगाएको अवस्थामा अहिलेसम्म तीन जनाको शव फेला परेको घटनास्थलमा रहेका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिएका छन् ।

स्थानीयले बताए अनुसार अहिलेसम्म कम्तिमा १० जना हराइरहेको जानकारी आफूले पाएको उनले बताएका छन् । ‘बाढी र पहिरोमा परेर कम्तिमा २५ वटा घरमा क्षति पुगेको प्रारम्भिक जानकारी हामीलाई आएको छ । क्षतिको बिस्तृत विरण प्राप्त भएको छैन’, उनले भने । उनले धेरै ठाउँमा पहिरो गएको र धेरैलाई बाढीले बगाएको बताउँदै उनले भने, ‘केहीलाई पहिरोले पनि पुरेको होला ।’

बुधबार दिउँसोदेखि परेको अविरल वर्षाको कारण स्थानीय दोभानखोला र भुजीखोलामा आएको बाढी ठाउँ ठाउँमा खसेको पहिरोले थुनिँदा वरपरका बस्तीमा क्षति गरेको इन्सपेक्टर भण्डारीले बताए । ‘यी दुई ठाडा खोला हुन् । ठूलो वर्षापछि दुबै खोलामा आएको बाढीले मानविय क्षति गरेको हो,’ उनले भने ।

खोलामा फेला परेका तीनवटा शव क्षतविच्छत अवस्थामा रहेकाले सनाखत हुन नसकेको भण्डारीले जानकारी दिएका छन् । बेपत्ता हुनेमा आठ पुरुष र दुई महिला छन् । बाढी र पहिरोमा परेर धेरै पशुचौपाया पनि मरेका छन् ।

घटनास्थल सदरमुकामबाट गाडी र पैदल गरेर झण्डै आठ घण्टाको दूरीमा पर्छ । सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, एसपी शारदाप्रसाद चौधरीसहितको टोली पनि घटनास्थलतिर जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी राजेन्द्र रेग्मीले जानकारी दिएका छन् ।

घटना बुधबार राति ११ बजेतिरको हो । राति करिब दुई बजे इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको कमाण्डमा ११ जनाको टोली घटनास्थलतिर गएको छ । आफूहरुलाई अझै मुख्य घटनास्थलमा पुग्न समय लाग्ने इन्सपेक्टर भण्डारीले बताएका छन् ।

ढोरपाटन नगरपालिकाकी उपमेयर करमती पुनले भुजीखोलाको मुहानबाट झरेको पहिरोले वडा नं. ९ र ८ मा ठूलो क्षति पुर्‍याएको जानकारी दिएकी छिन् । के कति क्षति पुग्यो त्यसको पूर्ण विवरण आइनसकेको पुनले बताएकी छिन् ।

 
 
  
 

You may also like