सिन्धुपाल्चोक। जुगल गाउँपालिका–२ लिदीकी सुष्मा तामाङको परिवार केही दिनदेखि गाउँपालिकाले उपलब्ध गराएको टेन्टमा बस्दै आएको थियो ।
पहिराको कारण बस्ती जोखिममा परेपछि तामाङका बुबाआमासहितको परिवार २७ असारदेखि बेलुकी सुत्न टेन्टमा जाने गरेका थिए । बिहान सबेरै उठेर परिवारसहित सुष्मा पनि घरमा गएकी थिइन् ।
‘म पानी लिन गएकी थिएँ, बुबा–आमा र भाइ–बहिनीहरू घरमै थिए । एक्कासी पहिरो आएर सबैलाई पुर्यो,’ सुष्माले रुँदै भनिन्, ‘म चाँहि पानी लिन गएकाले बाँचें ।’
लिदीकै कविता दोङ केही दिनअघि मात्रै काठमाडौंबाट गाउँ आएकी थिइन् । उनको परिवार पनि बेलुकी खाना खाएर अस्थायी टेन्टमै गएर सुत्ने गरेको थियो । बिहान घर सफा गर्न र चिया खाना आएको बेला घर माथिबाट आएको पहिरोले उनको घरका मात्रै आठ जनालाई पुरेको छ ।
‘मचाहिँ टेन्टमा नै थिएँ, एक छिनमा जान्छु भनेर बसिरहेकी थिएँ । एक्कासी आएको पहिरोले केही समयअगाडि सँगै भएका परिवार नै सखाप बनायो,’ कविताले गहँभरि आँशु पार्दै भनिन् ।
बस्तीमुनि निर्माणाधीन बलेफी ‘ए’ जलविद्युत् आयोजनाका कारण असारमा बस्ती छेउमा अहिले गएकै ठाउँमा पहिरो गएपछि बस्तीका स्थानीय केही समयदेखि बेलुकीको समयमा बस्तीनजिकै रहेको लप्से डाँडामा गएर बस्ने गरेका थिए ।
पहिरोले एकै घरका आठ जनासम्म पुरेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । बस्ती जोखिममा भएपछि गाउँपालिकाका तर्फबाट केही साताअघि चिनियाँ टेन्टलगायत सामग्री बस्तीलाई प्रदान गरिएको थियो ।
एकाबिहानै बस्ती नै पहिरोले सखाप पारेपछि स्थानीयमा भागदौड र रुवावासी मच्चिएको थियो । नेपाली सेना र स्थानीयले पहिरोले पुरेको स्थानबाट बालबालिकाको शव निकाल्दा सबैको आँखा रसाएका थिए ।
पहिरोले पुरिएका आफन्तहरू जीवितै भेटिन्छन् कि भनेर सेनासँगै स्थानीय पनि पहिरो पन्छाउन सहभागी भएका थिए । सेनाले गहिरो गरी खन्दा त्यहाँ रहेका स्थानीय भन्दै थिए, ‘सर धेरै बल गरेर नखन्नू न, जीवितै भए त दुख्छ नि ।’
पहिरो आउँदा घर नै हल्लिएको स्थानीयले बताएका छन् । पहिरोमा परी घाइते भई चौतारा अस्पतालमा उपचार गरिरहेकी घाइते जुनुमाया तामाङले पहिरो आउँदा भुइँचालो आएजस्तै गरी घरहरू हल्लाएको बताइन् । पहिरोले घर पुरेपछि श्रीमानले तानेर आफूलाई बचाएको उनले बताइन् । राजधानी दैनिकबाट