एसएसबीले बारामा खेतमै घेरेर नेपालीलाई कुटे, अवस्था तनावग्रस्त

बारा । भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानहरुले बारामा खेत जाँदै गरेका नेपालीलाई घेरा हालेर कुटपिट गरेका छन् ।

बाराको बिश्रामपुर गाउँपालिका–४ बलिरामपुरमा एसएसबीले खेत जाँदै गरेका नेपालीलाई कुटेपछि नेपाली र भारतीयबीच झडप समेत भएको स्थानीयले जानकारी दिएका छन् । बिहान भएको झडपमा केही नेपाली घाइते भएका छन् ।

झडपमा अशोक कुमार साह, कमलेश शर्मा, हिरालाल शर्मा, दीपक शर्मा, छोटेलाल साह, मदन साह लगायत घाइते छन् । अशोकको टाउकोमा चोट लागेको छ ।

अन्यको अवस्था सामान्य रहेको वडा अध्यक्ष मदनप्रसाद यादवले जानकारी दिएका छन् । ‘खेतमा काम गर्न गएका स्थानीयलाई एसएसबीले कुटपीट गरेपछि स्थिति बिग्रिएको हो । दुवैतिरबाट सर्वसाधारण झडपमा उत्रिएका थिए,’ उनले भने, ‘नेपाली सुरक्षाकर्मीको तुलनामा भारतीय सुरक्षाकर्मी बढी आएका थिए ।’

सीमा क्षेत्रमा स्थानीय छोटेलाल साहको १५ कठ्ठा खेत छ । पानी परिरहेकाले खेत जोत्नका लागि योग्य छ कि छैन भनी उनी हेर्न जाँदा खेतमै एसएसबीहरु आएर कुटपीट गरेको उनले बताएका छन्् ।

‘खेतको बीच भागमा पुगेको थिएँ, एसएसबीले आएर घेर्‍यो, समातेर सीमामा हिंड् भन्दै थिए । दुई–चार डण्डा पनि लगाइहाले,’ उनले भने । आफूलाई एसएसबीले ज्यादती गरेको भन्दै उनले गाउँलेसँग गुहार मागेका थिए । त्यसपछि स्थानीय प्रतिकारमा उत्रिएका थिए ।

एसएसबीविरुद्ध नेपालीहरु जाइलागेपछि भारतीय पनि लाठी भाटा लिएर आएपछि स्थिति तनावपूर्ण बनेको थियो । पछि दुवै तर्फका सुरक्षाकर्मीले स्थानीयलाई सम्झाइबुझाइ गरेर स्थिति सामान्य पारेका थिए ।

बाराका सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले लकडाउनका कारण दुवैतर्फका मानिसहरु तनावमा रहेकोले सामान्य विवाद भएको बताए । ‘लकडाउन छ, मानिसहरु तनावमा छन्, सीमा क्षेत्रमा दुवै देशका नागरिकबीच सामान्य विवाद भएको हो,’ उनले भने, ‘अहिले स्थिति सामान्य भइसकेको छ ।’

 

 
 
  
 

You may also like