कोरोना परिक्षणको गति तीब्र बनाउन मुख्यमन्त्रीको निर्देशन

बुटवल । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना रोग परिक्षणको लागि भैरहवा, दाङ र नेपालगञ्जमा स्थापना गरिएका प्रयोगशाला सञ्चालन गरी परिक्षणको गति तीब्र बनाउन निर्देशन दिनुभएको छ ।

उहाँले अब अझै कामको गति बढाउनुपर्ने र आपसी समन्वय बढाएर नतिजा निकाल्नुपर्ने बेला आएको बताउनुभयो ।

शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा चार वटा कोरोना विशेष अस्पताल व्यवस्थापनको जिम्मेवारी पाएका चार मन्त्री, प्रमुख सचिव, सामाजिक विकास मन्त्रालयका सचिव, महाशाखा प्रमुख, स्वास्थ्य निर्देशक र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सहित प्रगति समिक्षा गर्न बसेको बैठकमा उहाँले भैरहवाको प्रयोगशालामा परिक्षणको गति बढाउन, दाङ र नेपालगञ्जको प्रयोगशाला तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको हो ।

“अब अझै कामको गति बढाऔं्, तत्काल कामको नतिजा चाहिएको छ, अझ धेरै मिहिनेत गरेर अहिलेसम्मको कामको नतिजा निकालौं, परिक्षणको गति बढ्दा मात्रै अहिलेसम्मको मिहिनेत काम लाग्छ—उहाँले भन्नुभयो ।
प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा आइसियु सहितको कोरोना आइसोलेसन अस्पताल निमार्ण गरेको छ ।

कोरोना विशेष अस्पतालमा केही समस्या भए तत्काल समाधान गर्न र विरामीको उपचारमा कुनै असहज अवस्था आउन नदिने गरी काम गर्न उहाँले निर्देशन दिनुभयो ।

बैठकमा सहभागी मेडिकल सुपरिटेण्डेन्ट,निर्देशक, महाशाखा प्रमुख र सचिवले अहिलेसम्म भएका काम, समस्या र गर्नुपर्ने काम बारे जानकारी गराउनु भएको थियो ।

 
 
  
 

You may also like