कतिपय मान्छेले भन्ने गरेको सुनेको छु । “अरुको पनि सुन्ने गर भनेर” । “अरुका कुरा मनन् गर भनेर” ।
धेरैजसो हामीले आफ्नो तागत अरुले फुर्काइदिएको भरमा जाच्ने गर्छौ । र, अनि मात्र आफ्नो शक्तिबारे चाल पाउँछन् । हामीलाई समाजले सानैबाट जे कुरा सिकायो, त्यै कुरालाई होमाहो मिलाउँछौ । ति कुरा असत्य नै किन नहुन्, हामी प्राय: समाजको कुरा काट्न सक्दैनौ । समाजले जे बोल्यो, त्यै गर्ने गर्छौ । त्योभन्दा बाहिर हामी जान सक्दैनौ ।
एक देखी प्रत्येक व्यक्तिले समाजलाई भगवान मान्छ । मान्नु पनि पर्छ । आदिमकालदेखी मानी आएको समाजलाई एक्काइसौं शताब्दीका मानवले बिनाकारण नमान्ने भन्ने कुरा पटक्कै आउदैन तर पनि समाजमा रहेका कु–प्रथा, कुरितीले गर्दा मानिसको हरेक फरक क्षमतामा प्रश्न गर्ने गर्छ ।
केही गर्छु भन्ने मानिसलाई पनि समाजका कुरितीले गर्दा उ एक पाइला पछि सर्छ । समाजले भनेकै कुरा हो जस्तो लाग्छ । समाजले नयाँ कुराहरुमा उत्साहित गर्नुको सट्टा हतोत्साहित गर्दिन्छ ।
त्यस्तै आज एउटा आत्मविश्वासको कथा पढौं । जस्ले आफैभित्र रहेको शक्तिलाई चिनाउँछ । परिचित गराउँछ ।
एउटा गाँउमा दुइजना मिल्ने साथी थिए । उमेर अलि भिन्न थियो । एउटा छ बर्षको थियो । अर्को दश बर्ष । एउटै गाउँको भएर पनि होला ज्यादै मिल्थे । सँगै खान्थे । सँगै बस्थे । सँगै साथसाथै । दुवैजना मिलेर टाढाको स्कुल पनि जान्थे ।
एक छुट्टीको दिन उनीहरु गाँउबाट टाढाको चौरमा खेल्नका लागि निस्किए । एउटा यस्तो चौर जहाँ कोही थिएनन् । उनीहरु खेल्दै थिए । खेल्ने क्रममा दश बर्षको साथी कुवामा पस्यो । उ जोरजोरले चिच्याउन थाल्यो । कराउन थाल्यो । उसलाई पौडिन आउदैन थियो ।
उसको छ बर्षको साथी आत्तिन लाग्यो । फसादमा पर्यो । के गरौ ? कसो गरौं भनेर । उसले आफ्नो वरिपरि हेर्यो । टाढाटाढा सम्म कोही थिएनन् । उ सहयोगका लागि केही खोजीरहेको थियो । उसको आखा एउटा बाल्टीमा पर्यो । जहाँ डोरी बाधिएको थियो । उसले हत्तार नगरी बाल्टी कुवामा फाल्यो ।
पौडिन नजान्ने साथीले बाल्टी पक्रियो । उसले जोडजोडले डोेरी तानिरह्यो जबजबसम्म उसको साथी बाहिर निस्किएन । अन्तिममा बाहिर निकाल्यो ।
दुवैजनाले खुशीका आशु झारेर रोए । अङ्कमाल गरे । उनीहरुलाई डर लाग्यो । अब गाउँमा गएर के भन्ने भनेर । भनिहाले पिटाइ खाने डर पनि थियो । त्यै पनि गाउँ गएर सबै वृतान्त गाँउघरका सबैलाई सुनाए । कसैले पत्याएनन् । पत्याउन् पनि कसरी ? त्यति साना मान्छेका कुरा ।
त्यो बच्चामा त्यति पनि तागत थिएनन, जसले एक बाल्टी पानी उठाउन सकोस् । कुवाबाट दश बर्षको साथीलाई निकाल्न सक्ने त परको कुरा भइहाल्यो ।
उनीहरुको गाउँमा कृष्णकाका नाम गरेका एक व्यक्ति थिए । जो गन्नेमान्नेमा पर्थे । उनले मात्र पत्याए यो कुरा ।
सबै गाउलेले भने “कहिल्यै झुट नबोल्ने व्यक्तिले पक्कै पनि झुट बोलेका छैनन् । केही न केही त कारण होला ।”
सबै जम्मा भएर कृष्णकाकाकोमा गए ।
ति मध्येको एउटा गाउलेले बोल्यो “हामीले त केही बुझ्न सकेका छैनौँ । तपाई नै बताइदिनोस् न ।”
कृष्णकाका हास्दै बोले “म के बोलौं ? सबै नानीहरु बोली त रहेका छन् ।”
सबै गाउलेहरुले मुखामुख गरे तर उत्तर पाएनन् । एकछिन वातावरण मौन रह्यो ।
र, कृष्णकाका बोले, “प्रश्न यो हैन कि त्यो सानो बच्चाले यो कसरी गर्यो भनेर, उसको भित्र यत्रो तागत कहाँबाट आयो भनेर । यसको एउटै मात्र जवाफ छ । जुनबेला यो बच्चाले त्यो काम गर्यो त्यो समय परपरसम्म कोही थिएनन् । जस्ले भन्न सकोस् कि तैले यो काम गर्नै सक्दैनस् भनेर ।” कृष्णकाका केहि बेर रोकिए ।
चुपचाप उनका कुरा सुनिरहेका गाउँलेतिर नियालेर फेरि बोले, “उसमा त्यति बेला आत्मविश्वास थियो तर उसको आत्मविश्वास घटाउँनका लागि भुमिका खेल्ने कोही थिएनन् । त्यसकारण उसले गर्न सक्छु कि सक्दिन भन्ने कुरामा आफ्नो समय र शक्ति खर्च गर्न परेन । र, उसले पत्याउँनै नसक्ने गरि आफ्नो साथीलाई बचायो ।”
कृष्णकाकाका कुराले गाउँलेहरु प्रभावित भए । मानिसको आत्मविश्वासले के सम्म गर्न सक्ने रहेछ भन्ने सानो उदाहरण उनीहरुले आफ्नै गाउँमा देखे ।
हो, हामीलाई समाजले धेरै कुरा सिकाएको छ तर त्यहि समाजले हामीलाई तैले यो गर्न हुदैन वा गर्न सक्दैनस् भनेर हामीलाई रोकेको पनि छ । हामी धेरै त जीवनमा अलमलिएका पनि यही कारण हो । आफैले आफैलाई नचिनेर हो । आत्मविश्वासको कमीले हो । आत्मबिश्वास त्यो हतियार हो जस्ले मान्छेलाई सधै अघि बढ्न सिकाउछ ।
वास्तवमा समाज भनेको को हो ?
हामी सबैलाई थाहा छ, समाज भनेको मानिसहरुको समूह हो । तर हामीलाई बदल्ने, रोक्ने वा हाम्रा कुराहरुमा आफ्नो धारणा बनाउँने भन्ने गरिएको समाज खाली मान्छेहरुको समूह मात्रै होइन । यो एउटा विचार हो । धारणा हो ।
अचम्म लाग्दो कुरा के छ भने, हामी स्वयम पनि त्यहि समाजमा छौँ । अर्थात, हामी पनि समाज हौँ । हाम्रा घरका मानिसहरु पनि समाज हुन् ।
हामीले केहि कुरा बिगार्दा वा गर्न लाग्दा हाम्रो घरमा कसैले भन्छ, ‘समाजले के भन्ला ?’ अरुको घरमा पनि कसैले त्यस्तै भन्छ । अरुको घरका लागि हामी समाज हौँ । हाम्रा लागि उनीहरु ।
यसैले समाजको धारणा बदल्नलाई सबै भन्दा पहिले बुझ्नु पर्छ कि हामी नै समाज हौँ । हामीले औपचारिक वा अनौपचारिक रुपमा व्यक्त गर्ने विचारहरुले नै समाजका धारणा बन्ने हुन् । हामीले जिस्किएर भनिने कुराहरुले पनि समाजको धारणा निर्धारण बन्छ ।
समाजलाई गाली गर्नु भन्दा अगाडी र समाजका धारणाहरु भनेर कुनै अमुर्त समूहका धारणा थुपार्नु अगाडी यति बुझ्नै पर्छ कि त्यो धारणा बनाउँन आफु स्वयमको पनि भुमिका छ । र, ति सबै धारणाहरु सत्य हुन्छन् भन्ने पनि हुन्न ।
यसैले समाजका राम्रा पक्षहरुलाई फैलाउँदै कुरितिहरुलाई क्षय गर्दै हामीले आत्मविश्वासका साथ आफ्नो रुचिलाई अगाडी बढाउँनु पर्छ ।
नत्र समाजले के भन्ला भन्ने एक वाक्यले धेरै मानिसहरुको प्रगति, खुसी र सन्तोषको बाटो छेक्छ । हामीले त्यो वाक्यमाथि विजय हाशिल गर्नै पर्छ ।
माथि दुई साथी र कृष्णकाकाको कथाबाट पनि हामीले सिक्नु पर्ने कुरा यही हो ।
उज्यालो पाटोबाट साभार