धर्म सन्तानको नाममा आमाको काखैबाट चोरेर अमेरिका र युरोपमा बालबालिका तस्करी

by समतल अनलाइन

काठमाडौं । सिन्धुपाल्चोक कठरीका मञ्जु–भीमसेनबहादुर खड्का दम्पती राजधानीमा मकै पोलेर जीविकोपार्जन गर्थे। उनीहरूका तीन छोरामध्ये दुई थिए– रामकुमार र बालकृष्ण । उनीहरूको अवस्था देखेर एक दम्पतीले बालमन्दिरमा राखिदिने बताए । खाने, बस्ने र पढ्ने व्यवस्था त्यहीं हुने सुनेपछि आमा–बुवाले खुसी साथ पठाई दिए ।

घटना १० वर्षअघिको हो । उनीहरूको उमेर क्रमशः ८ र ६ वर्ष थियो । बालगृहले लामो समयसम्म खड्का दम्पतीलाई सन्तानसँग भेट्न दिएन । उल्टै ज्यानको धम्की आउन थाल्यो । बाध्य भएर उनीहरूले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिए । आयोगले ती बालकको खोजी ग¥यो । पत्ता लाग्यो– नेपालबाट हराएका ती बालक इटाली पुर्‍याइएका रहेछन् ।

घटना अनुसन्धान गरिरहेकी आयोगकी उपनिर्देशक मञ्जु खतिवडा भन्छिन्, ‘पढाई दिने प्रलोभनमा लगेको बालगृहले नै फर्जी कागज बनाएर ती बालक इटाली पु¥याइएको पाइयो । सकेसम्म नफस्ने तरिकाले कागजात तयार पारेको भेटियो ।’
घटना अनुसन्धानपछि आयोगले सरकारको ध्यानाकर्षण समेत गरायो । आयोगको निर्णयमा

भनिएको छ, ‘ती बालकलाई बाल संगठन नक्सालमार्फत धर्मपुत्रका रूपमा पठाएको भन्ने देखिँदा धर्मपुत्रसम्बन्धी कानुनी व्यवस्था, नीतिसमेत आवश्यक संशोधन गर्न, जनचेतना र सचेतना वृद्धि गर्न, गराउन र आफ्ना बालबालिकाको संरक्षण गर्ने दायित्व अभिभावक बाबु आमा स्वयंको हुने भएकाले त्यसतर्फ सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न, गराउन सरकारलाई नीतिगत सिफारिस गर्ने ।’
विदेश पु¥याउन चोर बाटो
सयौं छोराछोरीलाई सरकारी रेकर्डमा नराखी धर्मपुत्र–पुत्री बनाएर विदेश पुर्‍याइएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अभिलेखअनुसार सन् २०१० देखि २०१९ जुलाईसम्म अमेरिकासहित १० मुलुकमा ६४ बालबालिका धर्मपुत्र–धर्मपुत्री बनाएर लगिएको छ ।

तर अमेरिकी स्टेट डिपार्टमेन्टको अभिलेख र ९ मुलुकले नेदरल्याण्डस्थित अन्तर सरकारी निकाय ‘हेग कन्फ्रेन्स अन प्राइभेट इन्टरनेसनल ल’ (एचसीसीएच) लाई बुझाएको सूची जोड्दा २४२ जना पुग्छ ।

अमेरिका, डेनमार्क, फ्रान्स, नर्वे, स्विट्जरल्याण्ड, क्यानडा, जर्मनी, बेल्जियम, इटाली र स्विडेनका यी तथ्यांकले चोर बाटोबाट बालबालिका तस्करी हुने गरेको प्रस्टै छ ।

नेपालबाट बालबालिका सजिलै धर्म सन्तानका रूपमा लैजान सकिन्न । नेपाली बालबालिका विदेशी नागरिकलाई धर्मपुत्र, धर्मपुत्री ग्रहण गर्न दिने सर्त तथा प्रक्रिया–२०६५ ले रोजेर धर्म सन्तान ग्रहण गर्न नपाइने व्यवस्था छ ।

त्यसैगरी धर्मसन्तान ग्रहण गर्न चाहने विदेशी नागरिकले सूचीकृत विदेशी संस्था र एजेन्सी वा नेपालस्थित आफ्नो देशको दूतावासमा निवेदन दिनुपर्ने हुन्छ । त्यसो नभए नेपालका निम्ति तोकिएको दूतावासमार्फत धर्म सन्तान ग्रहण गर्न चाहने बालबालिकाको उमेर, लिंग र अन्य विवरण खुलाई तोकेबमोजिमको ढाँचामा निवेदन पेस गर्नुपर्ने हुन्छ ।

निवेदकले पेस गरेको विवरणअनुसार बालबालिका छनोट गर्ने जिम्मा सहसचिव नेतृत्वको ‘परिवार छनोट समिति’ को हुने व्यवस्था सर्त र प्रक्रियाको दफा १४ मा उल्लेख छ ।

सर्त र प्रक्रियाको दफा १४ (३) अनुसार प्राप्त निवेदकको विवरणका आधारमा पहिला निवेदन दिने र परिवार छनोट समितिमा पहिला दर्ता भएको निवेदनलाई पहिलो प्राथमिकतामा राखेर बालबालिका छनोट गर्नुपर्ने व्यवस्था छ । जब कि एचसीसीएचको वेबपेजबाट प्राप्त विवरणले ठूलो संख्यामा यो प्रक्रिया छलेर बालबालिका विदेश पुगेको देखिन्छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार नेपाल सरकारले हाल १८ देशमा धर्मपुत्र–धर्मपुत्री लैजान अनुमति दिने गरेको छ । तर, अमेरिकी स्टेट डिपार्टमेन्टको अभिलेख र एचसीसीएचमा ९ देशको मात्रै विवरण फेला पारेपछि तुलनात्मक अध्ययन १० देशमा सीमित छ । बाँकीको अवस्था भने अज्ञात छ ।

नमिल्दो विवरण

अब नेपाल सरकारले धर्म–सन्तान लैजान दिएको विवरण र सम्बन्धित देशले एचसीसीएचमा आफ्नो देशमा नेपालबाट ल्याइएका धर्म–सन्तानबारे दिएको विवरण तुलना गरौं । डेनमार्कले एचसीसीएचलाई बुझाएको सूचीअनुसार यो अवधिमा नेपालबाट धर्म सन्तानका रूपमा २० बालबालिका त्यहाँ लगिएको देखिन्छ ।

जब कि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अभिलेखअनुसार नेपालबाट पछिल्लो ९ वर्षमा दुई बालबालिका मात्रै डेनमार्क लैजान अनुमति दिइएको छ । १८ बालबालिका कसरी डेनमार्क पुगे चासोको विषय छ ।

फ्रान्सको उदाहरण पनि त्यस्तै छ । फ्रान्सले सन् २०१० यता २१ नेपाली बालबालिका धर्म सन्तानका रूपमा आफ्नो मुलुकमा रहेको सूची एचसीसीएचलाई बुझाएको छ । तर, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अभिलेखअनुसार यस अवधिमा नेपालबाट एक बालिका मात्रै त्यहाँ लगेको देखिन्छ । २० बालबालिका कसरी फ्रान्स पुगे कसैले भन्न सक्दैन ।

धर्म सन्तानका रूपमा अमेरिकामा भएका नेपाली बालबालिकाको विवरण अझ झस्काउने खालको छ । पछिल्लो ९ वर्षमा १०२ नेपाली बालबालिका धर्म सन्तानका रूपमा आफ्नो मुलुकमा रहेको विवरण स्टेट डिपार्टमेन्टको अभिलेखमा देखिन्छ । यस अवधिमा नेपालबाट ११ बालबालिका मात्रै धर्मपुत्र–धर्मपुत्रीका रूपमा अमेरिका गएको सूची मन्त्रालयसँग छ । ९१ बालबालिका कसरी अमेरिका पुगे थप अनुसन्धानको विषय छ ।

अमेरिकाको विदेश मामिला हेर्ने ‘स्टेट डिपार्टमेन्ट’ को ‘ब्युरो अफ कन्सुलर अफेयर्स’ का अनुसार अमेरिकी संघीय कानुनअनुसार, धर्मपुत्र–धर्मपुत्री राख्न अमेरिकी नागरिक हुनुपर्ने, अविवाहित भए कम्तीमा २५ वर्ष पुगेको हुनुपर्ने, विवाहित भए पतिपत्नी दुवैको सहमति चाहिने, आपराधिक पृष्ठभूमिको हुनु नहुने र अरू देशबाट धर्मपुत्र–धर्मपुत्री ग्रहण गर्दा ‘सम्बन्धित देशको मापदण्ड पूरा गरेको हुनुपर्ने’ व्यवस्था छ । तर सरकारी अभिलेखअनुसार स्वीकृति बिनै यी ९१ बालबालिका अमेरिका लगेको देखिँदा यसमा नेपालको कानुनी प्रक्रिया पूरा नगरेको स्पष्ट हुन्छ ।

एचसीसीएचलाई नर्वेले दिएको जानकारीअनुसार सन् २०१० यता धर्म–सन्तानका रूपमा १० बालबालिका नर्वे पुगेका छन्। तर नेपाल सरकारको अभिलेखअनुसार नेपालबाट कानुनी प्रक्रिया पूरा गरेर सो अवधिमा तीन बालबालिका मात्रै त्यहाँ लगिएको छ ।

क्यानडाले नेपालबाट पाँच बालबालिका धर्म–सन्तानका रूपमा आफ्नो मुलुकमा आएको सूची एचसीसीएचलाई बुझाएको छ । तर मन्त्रालयसँग रहेको सूचीमा त्यो अवधिमा दुई बालबालिका मात्रै क्यानडा लगिएको छ । स्विट्जरल्याण्डले नेपालबाट तीन बालबालिका आएको सूची एचसीसीएचलाई बुझाएको छ ।

नेपालबाट एक जना मात्रै बालिका लगिएको विवरणबाट देखिन्छ । यसैगरी बेल्जियमले १२ नेपाली बालबालिका धर्म सन्तान बनाएर लगेको विवरण एचसीसीएचलाई बुझाएको छ । जब कि नेपालको विवरणमा चार बालबालिका मात्रै त्यहाँ गएका छन् । अन्नपूर्ण पोष्टबाट

 
 
  
 

You may also like