जेलभित्र झाँगिदै चार्ल्स शोभराज र सुन तस्करीका नाइके गोरेको दोस्ती

by समतल अनलाइन

गोलघरमा चेस र बाघचाल प्रतिस्पर्धा
काठमाडौं। नाटकीय शैलीमा विभिन्न देश पुगेर हत्या गर्ने विश्वकुख्यात अपराधी चार्ल्स शोभराज र प्रहरीलाई नै हात लिएर विमानस्थलबाटै ३८ क्विन्टल सुन तस्करी गर्ने अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ । सुन्धारास्थित केन्द्रीय कारागारको गोलघरमा रहेका उनीहरूको जेलभित्रै दोस्ती झाँगिएको छ ।

शोभराज र गोरेको जेल दैनिकी चेस र बाघचाल प्रतिस्पर्धामा बित्ने गरेको छ । उनीहरू दैनिक चेस र बाघचाल प्रतिस्पर्धामा रमाउने गरेको केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए । उनका अनुसार गोलघरमा रहेका सात कैदीबन्दीमध्ये शोभराज र गोरेको सम्बन्ध विशेष छ । दुवै जना किताब पनि साटफेर गरेर पढ्छन् ।

उनीहरू कुख्यात भएकाले जेल प्रशासनले विशेष निगरानीमा राखेको छ । भाग्न सक्ने र जेलभित्रैबाट अपराध गर्न सक्ने व्यक्तिलाई गोलघरमा राखिन्छ । उनीहरूले गोलघरभित्रै कैदीबन्दीलाई मात्र केही घण्टा भेट्न पाउँछन् । शोभराज ०६० यता गोलघरमा छन् ।

एक पटक उनीसँग मोबाइललगायत विद्युतीय सामान भेटाएपछि जेल प्रशासनले थप कडाइ गरेको छ । गुण्डा नाइके अभिषेक गिरी, बाल यौन दुराचारमा पक्राउ परेका साउदी अरेबियन नागरिक र न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न एक कैदी पनि गोलघरमै छन् ।

विशेष सुरक्षा फोर्स माग्दै अस्पताल जान मानेनन् शोभराज, प्रजातन्त्र दिवसमा जेलमुक्त गरिदिन माग

मुटुमा समस्या देखिएपछि शोभराजलाई गंगालाल अस्पताल भर्ना हुन केन्द्रीय कारागारस्थित अस्पतालले रेफर गरेको थियो । तर, आफ्नो सुरक्षामा विशेष फोर्स खटाउनुपर्ने माग गर्दै उनी गंगालाल जान मानेका छैनन् । तर, केन्द्रीय कारागारले विशेष फोर्स खटाउन मानेको छैन ।

‘शोभराजले आफूलाई विशेष सुरक्षा फोर्स खटाएको भनेर पत्र आएपछि मात्र गंगालाल जाने बताएका छन्,’ जेलर बाँस्कोटा भन्छन्, ‘हामी राम्रो सुरक्षा व्यवस्था गर्छाैँ भन्दा उनले मानेका छैनन् ।’

वेला–वेलामा उनी विभिन्न बहाना बनाएर जेल प्रशासनलाई दुःख दिने गर्छन् । प्रजातन्त्र दिवसको अवसरमा आफ्नो बाँकी कैद मिनाहा गरेर छाड्नुपर्ने उनको माग थियो । तर, प्रशासनले नमानेपछि उनले यस्तो विवाद गर्न खोजेको जेल प्रशासनका एक कर्मचारी बताउँछन् । तीन वर्षअघि गंगालाल अस्पतालमै उनको मुटुको भल्भ फेरिएको थियो ।

नेपालको कानुनअनुसार ६५ वर्षभन्दा बढी उमेरका कैदीले ६५ प्रतिशतसम्म कैद छुट पाउने प्रावधान छ । तर, विदेशीको हकमा यो सुविधा छैन । आफूलाई पनि सो सुविधा दिएर छाड्नुपर्ने भन्दै पटक–पटक उनले कारागारमा निवेदन दिइसकेका छन् ।

उनकी वकिल शकुन्तला थापाले समेत छुटाउने प्रयास गर्दै आएकी छिन् । ०६५ को दसैँमा शोभराजले शकुन्तलाकी छोरी निहिता विश्वाससँग जेलभित्रै विवाह गरेकी थिइन् । तर, केही वर्षयता निहिता शोभराजलाई भेट्न गएकी छैनन् । शकुन्तला भने आइरहने जेलका एक अधिकारीले बताए ।

चार वर्षपछि छुट्ने

शोभराज जेल बसेको नौ वर्ष भयो । सबै मुद्दामा कैद भुक्तान गरेर छुट्न अब चार वर्ष बाँकी छ । जेलर बाँस्कोटाका अनुसार ०८० मा उनको सबै कैद सजाय सकिनेछ । शोभराजविरुद्ध नेपालमा दुईवटा हत्या र एउटा हत्या प्रयासको मुद्दा छ । ०३३ मा दुई विदेशी नागरिकको हत्या मुद्दामा उनी दोषी ठहर भएका छन् ।

जसमा उनलाई जन्मकैद सजाय भएको छ । नेपालको कानुनअनुसार जन्मकैद मुद्दामा अधिकतम २० वर्ष जेल बस्नुपर्छ । त्यस्तै, ०६७ मा केन्द्रीय कारागारमा युनुस अन्सारीलाई गोली हानेको घटनामा पनि शोभराजको संलग्नता देखिएको थियो । भारतीय नागरिक मनमित सिंहले शोभराजबाटै अन्सारीबारे सूचना लिएर गोली हानेका थिए । जसमा उनीविरुद्ध समेत मुद्दा दायर भएको छ । सबै मुद्दाको कैद सजाय ०८० असारमा सकिनेछ ।

प्रजातन्त्र दिवसमा तीन सय ५० कैदी छुट्ने

प्रजातन्त्र दिवसको अवसरमा तीन सय ५० कैदी छुट्ने भएका छन् । कारागार व्यवस्थापन नियमावलीअनुसार कैद मिनाहा गरेर छाड्न लागिएको छ । गम्भीर किसिमका केही मुद्दाबाहेकमा ५० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएमा बाँकी कैद मिनाहा गर्न सक्ने प्रावधान छ ।

तर, यसरी छुट्ने कतिपय पुनः अपराधमा फर्कने गरेका छन् । विभागले ५० प्रतिशत कैद भुक्तान गरिसकेका सबैलाई असल चालचलनको भन्दै छोड्न सिफारिस गर्दै आएको छ । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like