‘फेक न्यूज’बाट जोगिन सरकारी स्कूलमा पढाइ

by समतल अनलाइन

“फेक न्यूज भनेको गलत सूचना, फोटो वा भिडियो, जानिबुझी फैलाइने अफवाह, मासलाई भड्काउन प्रयोग गरिने गलत सूचना, हिंसा भड्काउने र आफूमा ध्यानाकृष्ट गरेर विषयान्तर गर्न बनाइएको गलत समाचार हो ।”

यो भारतको कर्नाटकस्थित कन्नुरको अमृथा विद्यालयमा पावर पोइन्टमार्फत विद्यार्थीलाई देखाइएको ‘स्लाइड शो’को एउटा अंश हो । अमृता विद्यालय कन्नुरका १५० त्यस्ता सरकारी विद्यालयमध्येको एउटा हो जहाँ फेक न्यूजविरुद्ध कसरी लड्ने भनेर पढाउने गरिएको छ ।

यो कन्नुरका डिस्ट्रिक कलेक्टर मोहम्मद अलीको पहलमा शुरु भएको “सत्यमेव जयते” अभियान हो ।

पछिल्लो केही समययता केही मानिसहरु बाल तस्करको आरोपमा ‘लिन्चिङ’मा परे । त्यो सूचना नक्कली व्हाट्सएप मेसेजमार्फत जतातै फैलाइयो । भर्खरै केरलामा आएको बाढीका विषयमा पनि अत्यधिक गलत सूचनाहरु फैलाएर भड्काउने काम भयो ।

त्यसपछि हो डिस्ट्रिक कलेक्टर अलीले यस अभियानबारे सोच्न थालेको । त्यसको परिणाम पनि राम्रो आएको छ । कन्नुरका १५० विद्यालयमा एकैपटक यसको शुरुवात गरेर सत्य के हो, यस्ता गलत सूचनाबाट कसरी जोगिने र त्यसविरुद्ध कसरी लड्ने भनेर सिकाउन थालिएको छ ।

यो अभियानको मुख्य उद्देश्य नै स्कूले विद्यार्थीलाई फेक न्यूज के हो, यो किन खतरनाक छ र यसबाट जोगिन के गर्न सकिन्छ भन्ने हो ।

“यो विद्यार्थीहरुका लागि एक प्रकारको आधारभूत तालिम हो, जसले व्यावहारिक जीवनमा लागू हुने केही विशेषताहरु सिकाउँछ । हामी उनीहरुलाई इन्टरनेटबाट कस्ता प्रकारका जानकारीहरु उपलब्ध हुन्छन र कुन सही र कुन गलत हुन् भनेर कसरी छुट्याउने भनेर प्रोत्साहित गर्न चाहन्छौँं”, कलेक्टर अलीले लजिकल इन्डियन नामक संस्थालाई दिएको अन्तरवार्तामा भनेका छन्।

उनी मानिसहरुले सत्यलाई खोजेर धारणा बनाउनु पर्ने कुरामा विश्वास गर्छन् । “हामीले कुनै न कुनै पक्ष लिनैपर्छ । निष्पक्ष भएर बस्नु यो समयको विकल्प होइन । यस्तो अवस्थामा निष्पक्ष हुनु भनेको गलत अफवाहलाई समाचारका रुपमा स्वीकार गर्नुजस्तै हो । स्वाभाविक हिसाबले गलत भाष्यको पक्षमा उभिनु हो” उनी भन्छन् ।

अली गत वर्षको रुबेला भ्याक्सिनका बारेमा फैलिएको गलत समाचारका कारण अभिभावकले आफ्ना बालबालिकाहरुलाई लगाउन नमानेको एउटा घटना स्मरण गर्छन् ।

“त्यो बेलामा रुबेला भ्याक्सिन प्रयोग गरेका बालिकाहरुमा भविष्यमा बच्चा जन्माउन नसक्ने समस्या देखिने भनेर एउटा गलत अफवाह फैलाइएको थियो । तर यथार्थ भने ठीक उल्टो थियो” उनी भन्छन्, “बरु त्यो भ्याक्सिन प्रयोग नगरेको खण्डमा बालिकाहरुमा बाँझोपनको समस्या देखिनसक्छ ।” त्यो प्रोगाम ८ कक्षादेखि १२ कक्षासममका विद्यार्थीका लागि भनेर लागू गरिएको थियो ।

कन्नुरमा सरकारी १५० वटा विद्यालयबाट अहिले एक\एक जना शिक्षकलाई महीनौँ तालिम दिएर स्कूलमा पढाउनका लागि पठाउने योजना बनेको छ । जसले फेक न्यूजबाट जोगिनका लागि स्कूले विद्यार्थीलाई सहयोग गर्ने कर्नाटक सरकारको अपेक्षा छ ।

-एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस

 
 
  
 

You may also like