रुपन्देही । लोकप्रिय लोकगायक प्रकाश दुतराजको सांगीतिक प्रस्तुतिमा तिलोत्तमा मणिग्राम झुमेको छ। मणिग्राममा सञ्चालन भइरहेको नवौँ तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि, प्रविधि एवम् पर्यटन प्रवर्द्धन महोत्सव–२०८३ मा दुतराजको प्रस्तुति हेर्न करिब १५ हजार दर्शक उपस्थित भएका थिए।

दुतराजले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिएका थिए। उनका गीतमा युवा युवतीदेखि आमा-बुवा र साना नानीबाबुसम्म झुमेका थिए। गीतसँगै नाच्ने, गाउने र ताली बजाउने दर्शकको उत्साहले मेलास्थल सांगीतमय बनेको थियो।
दुतराजको प्रस्तुतिका क्रममा मेला परिसरमा दर्शकको उल्लेख्य भीड देखिएको थियो। उनलाई प्रत्यक्ष हेर्न र गीत सुन्न दर्शकहरू उत्साहित देखिन्थे। कलाकार र वाद्यवादकसहितको सांगीतिक समूहले दिएको प्रस्तुतिले मेलाको रौनक थप बढाएको थियो।

स्थानीय उत्पादन, उद्योग व्यवसाय, कृषि, प्रविधि तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा व्यापारिक गतिविधिसँगै सांस्कृतिक तथा सांगीतिक कार्यक्रमले पनि दर्शकलाई आकर्षित गरिरहेको छ।
मंसिर ३ गतेदेखि सुरु भएको नवौँ तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला मंसिर १६ गतेसम्म सञ्चालन हुनेछ।

