बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ मा पाँचौँ सम्पूर्ण नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। लुम्बिनी एग्रो प्रोडक्ट्स एण्ड रिसर्च सेन्टर प्रालिको मुख्य प्रायोजनमा मंसिर ८ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ।
सम्पूर्ण युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि खेलमैदान मर्मत, टिम दर्तालगायतका आवश्यक तयारी पूरा गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष अविर पुन पाइजाले जानकारी दिए।
प्रतियोगिताको उपाधि जित्ने टोलीले नगद ३ लाख ५ हजार ५ सय ५ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले १ लाख ६० हजार ६ सय ६० रुपैयाँ पुरस्कार पाउनेछ। प्रतियोगितामा रुपन्देहीसहित नवलपरासी र स्याङ्जाका १२ टोली सहभागी हुने क्लबका सहसचिव रवि अर्यालले बताए।
क्लबले स्थानीयस्तरमा फुटबल खेलको विकास, खेलमैदानको संरक्षण र नयाँ खेलाडी उत्पादनलाई प्राथमिकतामा राखेर प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष पाइजाले बताए। प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदप्रति युवाको आकर्षण बढाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर १४ का सदस्य सन्तवीर चौधरी, नगर कार्यपालिका सदस्य रवि सेन्चुरी, सुपौली टोल विकास संस्थाका चक्रबहादुर क्षेत्री र समाजसेवी यमबहादुर थापाले प्रतियोगितालाई स्थानीय खेलाडीमैत्री बनाउनुपर्ने सुझाव दिएका थिए। उनीहरूले स्थानीय प्रतिभालाई अवसर दिँदै खेलकुदको विकासमा प्रतियोगिताले योगदान पुर्याउनुपर्ने धारणा राखेका थिए।
२०७६ सालमा दर्ता भएको सम्पूर्ण युवा क्लब खेलकुदसँगै सामाजिक गतिविधिमा पनि सक्रिय रहँदै आएको छ। क्लबले स्थानीयस्तरमा खेलकुद गतिविधिलाई निरन्तरता दिँदै आएको जनाएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सम्पूर्ण युवा क्लब र फर्साटिकर युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ। गत वर्ष आयोजित प्रतियोगिताको उपाधि झरना स्पोर्टिङ क्लबले जितेको थियो।
प्रतियोगिताले तिलोत्तमा क्षेत्रमा फुटबलको गतिविधि बढाउनुका साथै नयाँ खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ।

