दाङमा छिमेकीमाथि पेट्रोल छर्केर आगो लगाई हत्या प्रयास, ३९ वर्षीय कार्की पक्राउ

by समतल अनलाइन
19Shares

दाङ । छिमेकीमाथि पेट्रोल छर्केर आगो लगाई हत्या प्रयास गरेको आरोपमा प्रहरीले दाङबाट एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा राजपुर गाउँपालिका–२, मटेरियाका ३९ वर्षीय त्रिलोक सिंह कार्की रहेका छन्। उनले आफ्नै छिमेकी करिब ४८ वर्षीय रुपलाल चौधरी (गोमे) माथि पेट्रोल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका कार्की र चौधरीबीच आपसी विवाद भएपछि झगडा भएको थियो। सोही क्रममा कार्कीले आफूसँगै लिएर गएको पेट्रोल चौधरीको शरीरमा खन्याएर आगो लगाइदिएको बताइएको छ।

आगो लागेर चौधरी गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि जिल्ला बाहिर लगिएको छ।

घटनापछि फरार भएका कार्कीलाई वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले लमहीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक श्रीकुमार पौडेलले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताएका छन्।

You may also like