पार्टीभन्दा देशलाई प्राथमिकता दिन विश्वप्रकाश शर्माको आग्रह

by समतल अनलाइन
26Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको हितभन्दा देशको हितलाई प्राथमिकतामा राखेर अघि बढ्न नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई आग्रह गरेका छन्। उनले सभापति गगन थापाको नेतृत्वमा आधुनिक, व्यवस्थित र सशक्त कांग्रेस निर्माण गर्दै समुन्नत नेपाल बनाउने अभियानमा जुट्नुपर्ने बताएका छन्।

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै शर्माले पार्टीका नेता तथा सदस्यहरूले संस्थागत जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिए।

सभापति थापाले तयार पार्ने कार्ययोजनाअनुसार प्रत्येक सदस्यले तोकिएको भूगोल र जिम्मेवारीमा सक्रियतापूर्वक काम गर्नुपर्ने उनको भनाइ थियो। जिम्मेवारीअनुसार सम्पन्न भएका कामको प्रतिवेदन निर्धारित समयभित्र केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने उनले बताए।

शर्माले पार्टीमाथि उठ्ने आलोचना र प्रश्नलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा पनि राखे। पार्टीका गतिविधि वा निर्णयबारे उठेका प्रश्नको जवाफ दिँदा स्वस्थ, मर्यादित र विधिसम्मत प्रक्रिया अपनाउनुपर्ने उल्लेख गर्दै उनले गलत विषयको खण्डन तथ्यका आधारमा गर्नुपर्नेमा जोड दिए।

उनले परिवर्तनका चुनौती सामना गर्न नवनिर्वाचित केन्द्रीय कार्यसमिति सरकारसँग प्रभावकारी सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

सभापति थापाको नेतृत्वमा संस्थागत कार्यशैलीलाई प्राथमिकता दिँदै एकताबद्ध भएर अघि बढ्न सके कांग्रेसलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सकिने शर्माको विश्वास छ। उनले पार्टीलाई बलियो बनाउँदै मुलुकको समृद्धि र विकासका लागि सामूहिक रूपमा काम गर्नुपर्ने सन्देश दिएका छन्।

You may also like