काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बुधबार अधिकांश प्रदेशमा बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बिहीबारदेखि बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभावसमेत नेपालमा पर्ने सम्भावना छ।
हाल कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहेको छ भने अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदली हुने पूर्वानुमान छ। देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, कोशी र बागमती प्रदेशका पहाडी भूभाग, मधेश प्रदेश तथा कोशी प्रदेशको तराई क्षेत्रमा एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

