चक्रवात ‘अर्नब’को प्रभावले कात्तिक ११ देखि वर्षा हुने, नदीमा बाढीको जोखिम

by समतल अनलाइन
38Shares

काठमाडौं । चक्रवात ‘अर्नब’को सम्भावित प्रभावका कारण आगामी कात्तिक ११ देखि १५ गतेसम्म नेपालका विभिन्न क्षेत्रमा उल्लेख्य वर्षा हुन सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी नारायणी, बागमती, कमला र कोशी नदीका जलाधार तथा उपजलाधार क्षेत्रमा वर्षा हुँदा नदीको जलसतह बढ्न सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको विशेष बुलेटिनअनुसार कात्तिक ११ देखि १५ गतेसम्मको मौसम र नदीको जलसतहलाई आधार मानेर जलजन्य जोखिमको प्रारम्भिक आकलन गरिएको हो । महाशाखाले वर्षाको मात्रा र नदीको अवस्थाअनुसार जोखिममा परिवर्तन हुन सक्ने जनाएको छ ।
महाशाखाको पूर्वानुमानअनुसार कात्तिक ११ गते बुधबार देशभरका प्रमुख नदीमा जलसतह सामान्य अवस्थामा रहने देखिएको छ । कात्तिक १२ गते बिहीबार नारायणी, कोशी, बागमती, कमला तथा आसपासका जलाधारमा नदीको जलसतह सामान्य बढ्न सक्ने भए पनि बाढीको जोखिम न्यून रहने आकलन गरिएको छ ।
कात्तिक १३ गते शुक्रबार नारायणी, कोशी र तिनका सहायक नदीहरूका साथै बागमती, कमला, तिनाउ तथा आसपासका जलाधारमा मध्यमदेखि भारी वर्षा भए नदीको जलसतह उल्लेख्य बढ्न सक्ने महाशाखाले जनाएको छ । महाकाली, कर्णाली, पश्चिम राप्ती, बबई तथा तिनका सहायक नदीमा भने जलसतह सामान्य मात्र बढ्ने सम्भावना रहेको छ। उक्त दिन नदीमा बाढीको जोखिम मध्यम रहने पूर्वानुमान गरिएको छ ।
त्यस्तै, कात्तिक १४ गते शनिबार नारायणी, कोशी, बागमती, कमला तथा आसपासका जलाधारमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान छ । अघिल्ला दिनको वर्षाका कारण प्रमुख नदीमा जलसतह उच्च बिन्दुमा पुग्न सक्ने भएकाले आसपासका क्षेत्रमा सतर्कता आवश्यक रहेको महाशाखाले जनाएको छ । कात्तिक १५ गते आइतबार भने कोशी, बागमती तथा नारायणी जलाधारका केही स्थानमा हल्का वर्षा हुन सक्ने र बाढीको जोखिम न्यून रहने अनुमान गरिएको छ ।

महाशाखाले सम्भावित वर्षा र जलजन्य जोखिमलाई ध्यानमा राख्दै नदी तथा खोलाको तटीय क्षेत्र, खोला किनारका सडक, जोखिमयुक्त नदी उपत्यका र हिमाली क्षेत्रमा अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । अत्यावश्यक यात्रा गर्नुपरे सतर्कता अपनाउन, खोला तर्ने तथा नदी किनारमा जाने काम नगर्न र आधिकारिक सूचना तथा स्थानीय प्रशासनको निर्देशन पालना गर्न पनि अनुरोध गरिएको छ ।

महाशाखाका अनुसार यो प्रारम्भिक जलविज्ञान जोखिम आकलन हो । चक्रवातको सम्भावित प्रभाव, वर्षाको अवस्था र नदीको जलसतहसम्बन्धी अद्यावधिक पूर्वानुमानका आधारमा प्रणाली सक्रिय रहुन्जेल निरन्तर बाढी–पहिरोको पूर्वानुमान तथा पूर्वसूचना बुलेटिन जारी गरिने महाशाखाले जनाएको छ ।

You may also like