भैरहवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट रुपन्देहीका युवा नेता सुशील गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। आदिवासी जनजाति पुरुषतर्फ प्रतिस्पर्धा गरेका गुरुङले १ हजार ६४४ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा स्थान बनाएका हुन्।
निर्वाचन समितिका अनुसार जनजाति पुरुष समूहबाट निर्वाचित १२ जनामध्ये गुरुङ पनि एक हुन्। केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै उनी पार्टीको केन्द्रीय नेतृत्वमा पुगेका छन्।
रुपन्देही क्षेत्र नम्बर ३ का निवर्तमान क्षेत्रीय सभापतिसमेत रहेका गुरुङले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। नेपाल विद्यार्थी संघ (नेविसंघ) को साधारण सदस्य हुँदै संगठनमा सक्रिय भएका उनले क्याम्पस नेतृत्वदेखि जिल्ला अध्यक्षसम्मको जिम्मेवारी सम्हालेका थिए।
विद्यार्थी संगठनमा काम गरेपछि उनी नेपाली कांग्रेसको क्षेत्रीय सचिव बनेका थिए। त्यसपछि क्षेत्रीय सभापतिको जिम्मेवारीमा पुगेका गुरुङले रुपन्देहीमा पार्टी संगठन विस्तार र सांगठनिक गतिविधिमा भूमिका निर्वाह गर्दै आएका छन्।
गुरुङ २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवारसमेत बनेका थिए।
विद्यार्थी राजनीतिबाट पार्टीको क्षेत्रीय नेतृत्व हुँदै केन्द्रीय सदस्यसम्मको यात्रा तय गरेका गुरुङको निर्वाचनलाई रुपन्देहीको कांग्रेस राजनीतिमा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पार्टीको केन्द्रीय तहमा उनको भूमिका थप विस्तार हुने अपेक्षा गरिएको छ।

