पश्चिम नवलपरासीमा भन्सार छलीको १४ लाख ८४ हजार रुपैयाँ बराबरको मदिरा बरामद

by समतल अनलाइन
31Shares

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको भनिएको करिब १५ लाख रुपैयाँ बराबरको मदिरा बरामद गरेको छ।

सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट बिहीबार बिहान १४ लाख ८४ हजार रुपैयाँ बराबरको मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ।

भारतबाट भन्सार छली गरी अवैध रूपमा मदिरा ल्याइँदै गरेको गोप्य सूचनाका आधारमा बिहान करिब ३ः४५ बजे खटिएको संयुक्त प्रहरी टोलीले उक्त मदिरा फेला पारेको हो।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, प्रहरी चौकी रामनगर र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको संयुक्त टोलीले महलबारीस्थित सडकखण्डमा बेवारिसे अवस्थामा राखिएका ११ वटा ठूला हरिया झोलाबाट मदिरा बरामद गरेको थियो।

प्रहरीका अनुसार ती झोलामा ७५० मिलिलिटरका ७४२ बोतल रम फेला परेका छन्। प्रतिपोतल दुई हजार रुपैयाँका दरले बरामद मदिराको कुल अनुमानित मूल्य १४ लाख ८४ हजार रुपैयाँ कायम गरिएको छ।

बरामद मदिरा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको छ।

मदिरा कसले, कहाँबाट र कुन प्रयोजनका लागि ल्याएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

You may also like