कांग्रेसको खुला सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

by समतल अनलाइन
24Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित भएका छन्।

पार्टीको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनमा खुलातर्फका दुई सहमहामन्त्री पदमा खतिवडा र सिवाकोटी विजयी भएका हुन्।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार खतिवडाले २ हजार ९१९ र सिवाकोटीले २ हजार १७२ मत प्राप्त गरेका छन्।

खुलातर्फका दुई पदका लागि नौ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। अन्य उम्मेदवारमा डिल्लीराम सुवेदी, देवेन्द्रराज कँडेल, राजीव ढुंगाना, विकास कोइराला, अमृतकुमार अर्याल, रमेशप्रसाद धमला र विमलराज क्षेत्री रहेका थिए।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा विभिन्न समावेशी समूह र अन्य पदहरूको मतगणना जारी छ। केन्द्रीय निर्वाचन समितिले बुधबारसम्म सबै पदको मतगणना सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ।

यसअघि कांग्रेस सभापतिमा गगन थापा, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका थिए।

त्यस्तै, खुलातर्फको उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य तथा समावेशीतर्फको उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित भएका थिए।

महामन्त्रीमा खुलातर्फ प्रदीप पौडेल र उदयशम्शेर राणा तथा महिलातर्फ डा. डिला संग्रौला निर्वाचित भएका छन्

You may also like