बुटवल उद्योग वाणिज्य संघको निर्वाचन परिणाम सार्वजनिक, नरिश्वर पौडेल अध्यक्षमा निर्वाचित

by समतल अनलाइन
59Shares

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको ७३औँ वार्षिक साधारणसभा तथा २६औँ अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको परिणाम सार्वजनिक भएको छ। निर्वाचनमा नरिश्वर शर्मा पौडेल अध्यक्षमा निर्वाचित भएका छन्।

निर्वाचन परिणामअनुसार अध्यक्ष पदमा पौडेलले ७२३ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी टंकप्रसाद गैरेले ६०९ मत प्राप्त गरेका छन्।

वरिष्ठ उपाध्यक्षमा बिमलराज भट्टराई र उद्योग उपाध्यक्षमा निर्मित कसजूले बढी मत प्राप्त गरे पनि दुवै पदमा गोलाप्रथामार्फत टुंगो लगाइएको निर्वाचन परिणामसम्बन्धी सूचनामा उल्लेख छ। वरिष्ठ उपाध्यक्षमा भट्टराईले ६९८ र उद्योग उपाध्यक्षमा कसजूले ६९३ मत प्राप्त गरेका छन्। दुवै पदमा सहमतिका आधारमा गोलाप्रथाबाट टंकप्रसाद गैरे पक्षका उम्मेदवारलाई निर्वाचित गरिएको जनाइएको छ।

यसैगरी, वाणिज्य उपाध्यक्षमा मुक्ति प्रसाद अधिकारी ७१९ मतसहित निर्वाचित भएका छन्। महासचिवमा बसन्तप्रसाद ढकालले ७१४ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्।

सचिव पदमा दीपकप्रसाद चापागाईं ७५२ मतसहित निर्वाचित भएका छन् भने कोषाध्यक्षमा टिकराम बन्जाडेले ७३८ मत प्राप्त गरेका छन्। सह–कोषाध्यक्षमा कमला पोखरेल शर्मा पराजुली (मञ्जु) ६८६ मतसहित निर्वाचित भएकी छन्।

एसोसिएट्स सदस्यमा बालकृष्ण पौडेल ७८१ मतसहित निर्वाचित भएका छन्। उद्योगतर्फ सदस्यमा गोपाल टण्डन, ज्ञानबहादुर पुन, लेखनाथ भण्डारी र सुमिता शर्मा बन्जाडे निर्वाचित भएका छन्। पुन र दीपक बार्स्तोलाले समान ६५६ मत प्राप्त गरेपछि पुनलाई गोलाप्रथाबाट निर्वाचित गरिएको निर्वाचन परिणाममा उल्लेख छ।

वाणिज्यतर्फ सदस्यमा गणेशप्रसाद भट्टराई र रामबहादुर भण्डारी निर्वाचित भएका छन्।

निर्वाचन परिणाम सार्वजनिक गर्दै संघले निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने निर्वाचन समितिका पदाधिकारी, पूर्वअध्यक्ष, कर्मचारी, स्थानीय प्रशासन, सुरक्षाकर्मी, मतदाता तथा उद्योगी–व्यवसायीप्रति आभार व्यक्त गरेको छ। संघले नवनिर्वाचित अध्यक्षसहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएको छ।

You may also like