सवारी दर्ता र नामसारी गर्न सवारी धनी यातायात कार्यालय जानु नपर्ने

by समतल अनलाइन
45Shares

काठमाडौं । नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रिया सहज बनाउन यातायात व्यवस्था विभागले कार्यविधि संशोधन गरेको छ । संशोधित व्यवस्थाअनुसार सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता तथा नामसारी गर्न सकिने भएको छ ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। विभागले असोज २६ गते जारी गरेको सार्वजनिक सूचनामार्फत संशोधित व्यवस्था कार्यान्वयन गर्न सम्बन्धित सबैलाई जानकारी गराएको छ ।

संशोधित व्यवस्थाअनुसार निजी तथा सार्वजनिक सवारी साधनको पहिलोपटक नामसारी गर्दा डिलरले गरेको जाँचलाई मान्यता दिइनेछ। यसका लागि सवारी साधन पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने छैन ।
त्यस्तै, सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिमार्फत पनि दर्ता तथा नामसारी गर्न सकिनेछ। त्यसका लागि वारेसनामा पाएको व्यक्तिले नेपालको सरकारले जारी गरेको सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्नेछ ।

संशोधित व्यवस्थाले सवारी साधनको बीमा तथा बीमा नवीकरण प्रक्रियालाई पनि सहज बनाएको छ। अब बीमा गर्न वा नवीकरण गर्न सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने छैन ।

त्यसैगरी, सवारी साधनको नामसारी गर्दा आवश्यक जैविक विवरण लिन सहज बनाउन यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक वा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउनेछ। विभागले सवारी दर्ता तथा नामसारीसम्बन्धी सूचना जारी गरेपछि सम्बन्धित विक्रेता, वितरक वा कम्पनीले जैविक विवरण लिन सकिने व्यवस्था मिलाउनुपर्नेछ ।
संशोधित व्यवस्थाले सवारी दर्ता तथा नामसारीका लागि कार्यालय धाउनुपर्ने बाध्यता घटाउँदै सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

You may also like