काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन्। खुलातर्फ चन्द्र भण्डारीले सर्वाधिक ३ हजार ७३५ मत प्राप्त गर्दै उपसभापतिमा निर्वाचित भएका हुन्। मधु आचार्यले २ हजार ३४२ मत प्राप्त गरी उपसभापति पदमा जित हासिल गरेका छन्।
त्यस्तै, समावेशी उपसभापति पदमा विनोद चौधरी १ हजार ७४५ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।
खुला उपसभापति पदका अन्य प्रतिस्पर्धीमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा. डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन्।
समावेशी उपसभापति पदमा प्रतिस्पर्धा गरेका जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत पाएका छन्।
यसअघि नै महिला उपसभापति पदमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेकी छन्। त्यस्तै, वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा पनि निर्विरोध निर्वाचित भएका थिए।
नेपाली कांग्रेसको संशोधित विधानअनुसार वरिष्ठ उपसभापतिसहित पाँच जना उपसभापति रहने व्यवस्था छ।
यसैबीच, पार्टीको महामन्त्री पदमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन्।

