बुटवल उद्योग वाणिज्य संघद्वारा स्व. डायलसन अधिकारीसहित ७ पत्रकार सम्मानित

by समतल अनलाइन
55Shares

बुटवल । बुटवल उद्योग वाणिज्य संघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कारबाट स्वर्गीय डायलसन अधिकारीलाई मरणोपरान्त सम्मान गरिएको छ।
संघमा २०५७ सालदेखि २०७६ सालसम्म सञ्चार समन्वयकर्ताका रूपमा कार्यरत रही आर्थिक, सामाजिक तथा औद्योगिक–व्यावसायिक क्षेत्रमा संघले उठाएका मुद्दा, नीतिगत पैरवी तथा सार्वजनिक बहसमा योगदान पुर्‍याएको भन्दै अधिकारीलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको पुरस्कार छनोट समितिका संयोजक तथा संघका पूर्वअध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।
संघको साधारणसभा तथा अधिवेशन उद्घाटन समारोहका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, संघका अध्यक्ष हरिप्रसाद अर्याल र पुरस्कार छनोट समितिका संयोजक श्रेष्ठले स्वर्गीय अधिकारीकी जीवनसंगिनी चन्दा भुसाललाई नगद २५ हजार रुपैयाँ, सम्मानपत्र र दोसल्लासहित पुरस्कार प्रदान गरेका थिए।

छ पत्रकारलाई विधागत पत्रकारिता पुरस्कार

संघले विभिन्न विधामा पत्रकारिता गर्दै आएका छ जना पत्रकारलाई समेत सम्मान गरेको छ।

महिला उद्यमी प्रवर्द्धन लेखनवृत्ति प्रोत्साहन पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकमा कार्यरत रेखा भुसाल सम्मानित भएकी छन्। त्यसैगरी नवउद्यमी प्रवर्द्धन लेखनवृत्ति प्रोत्साहन पत्रकारिता पुरस्कारबाट हिमाल प्रेस तथा खस्यौली साप्ताहिकमा कार्यरत विनोद परियार पुरस्कृत भएका छन्।
औद्योगिक विकास प्रवर्द्धन लेखनवृत्ति प्रोत्साहन पत्रकारिता पुरस्कार दैनिक पत्रमा कार्यरत तेजेन्द्र केसीलाई प्रदान गरिएको छ। स्थानीय आर्थिक विकास लेखनवृत्ति प्रोत्साहन पत्रकारिता पुरस्कारबाट मेचीकाली तथा लोकान्तर डटकममा कार्यरत प्रकाश आचार्य सम्मानित भएका छन्।

यसैगरी पर्यटन प्रवर्द्धन लेखनवृत्ति प्रोत्साहन पत्रकारिता पुरस्कारबाट बुटवल एफएम तथा बुद्ध परिपथमा कार्यरत सुदीप भण्डारी र वाणिज्य क्षेत्र प्रवर्द्धन लेखनवृत्ति प्रोत्साहन पत्रकारिता पुरस्कारबाट समतल अनलाइनमा कार्यरत सन्तकुमार श्रेष्ठ पुरस्कृत भएका छन्।
सम्मानित सबै पत्रकारलाई नगद पुरस्कार, प्रमाणपत्र र दोसल्ला प्रदान गरिएको थियो।

पाँच उद्योगी तथा व्यवसायी सम्मानित
बुटवल उद्योग वाणिज्य संघले विभिन्न विधामा योगदान पुर्‍याएका पाँच जना उद्योगी तथा व्यवसायीलाई पनि सम्मान गरेको छ।
उद्योगतर्फ फस्ट च्वाइस फुड्स पब्लिक लिमिटेडका कृष्णप्रसाद पौडेल, वाणिज्यतर्फ हैण्डलुम इन्टरप्राइजेजका अजहरुल हसैन, कृषितर्फ शाह ब्रदर्श मल्टिप्रपोज प्रालिका नुरुद्धिन शाह सम्मानित भएका छन्।
त्यसैगरी महिला उद्यमीतर्फ सिद्धार्थ डेरी उद्योगकी गीता भट्टराई र सेवा क्षेत्रबाट महिमा टुर्स एण्ड ट्राभल्स प्रालिका अनिलमान श्रेष्ठलाई सम्मान गरिएको संघले जनाएको छ।

You may also like